५ जेष्ठ २०८१, शनिबार

 

कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा १ हजार घर बनाउन पठायो टोली

काठमाडौं । नेपाली कांग्रेसले जाजरकोट र रुकुमका भूकम्प प्रभावितका एक हजार घर बनाउने भएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार विहान बसेको पदाधिकारी बैठकले घर बनाउन  इन्जिनियर र डकर्मीसहित स्वयमसेवकको टोली परिचालन गर्ने निर्णय गरेको हो । सोमबार केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा पहिलो टोली भूकम्प प्रभावित क्षेत्रमा जानु भएको हो ।

पदाधिकारीको बैठकले जाजरकोट र रूकुम पश्चिममा भूकम्पपीडितलाई टहरा बनाउन २५ वटा स्वयमसेवक टोली पठाउने निर्णय गरेको छ ।

बैठकमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको जानकारी गराउनु भएको थियो ।

महामन्त्री गगन थापाले आफनो संयोजकत्वमा बनेको समितिले गरेका कामको बारेमा जानकारी गराउनुको साथै अस्थायी टहरा बनाउन जनशक्तिको अभाव हुन सक्ने बारेमा बैठकमा सूचित गर्नु भएको थियो ।

घर बनाउने टोलीले स्थानीय सरकारसँग समन्वय र सहकार्यमा जेष्ठ नागरिक, एकल महिला, बालबालिका, विरामी र विपन्न परिवारको आवास बनाउन पहिलो प्राथमिकता दिने भएको छ । यसको लागि मंगलबार भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक बसेर थप निर्णय गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्