५ जेष्ठ २०८१, शनिबार

 

कँडेल परिवारद्वारा सुरक्षा कँडेलको स्मृतिमा आश्रमको कोठा निर्माणको लागि ५ लाख सहयोग

बागलुङ । बागलुङ नगरपालिका – ४ निर्णयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ ।

बागलुङ नगरपालिका वडा नं २ श्रीनगर टोल निवासी हजुर बुबा खिमानन्द कँडेल, हजुर आमा गुमा देवी कँडेलले आफनो नातिनी सुरक्षा कँडेलको स्मृतिमा एक कोठा निर्माणको लागि पाँच लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग रकम आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गर्नु भएको हो ।

छोरी सुरक्षा कँडेलको तेस्रो पुण्य तिथिको अवसरमा कोठा निर्माण गर्न बुबा कृष्ण कँडेल, आमा देवकी कँडेलले उक्त सहयोग गर्नु भएको मानव सेवा आश्रमका सञ्चालक निर्मल बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।

कार्यक्रममा कृष्ण सुवेदी, पण्डित तिर्थ आचार्य, यशोदा कँडेल, मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बाँस्कोटाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मानव सेवा आश्रमकी अभिभावक सरिता गौतम, सेतुलाल आचार्य, इन्द्र सुवेदी, निर्मला कँडेलको उपस्थिति रहेको थियो ।कार्यक्रमको संचालन आश्रमकी सञ्चालिका विपना तामाङले गर्नु भएको थियो ।

कँडेल परिवारले उक्त दिनको भोजन सेवा बापत ८ हजार ५ रुपैयाँ पनि सहयोग गर्नु भएको थियो ।

मानव सेवा आश्रम बागलुङले बागलुङ नगरपालिकाको निरेघाटमा गण्डकी प्रदेश सरकार, विभिन्न स्थानीय तह तथा दानदाताको सहयोगमा आधुनिक भवन निर्माण गरिरहेको छ । ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन निर्माणको काम भैरहेको आश्रमका अभिभावक शिव खड्काले बताउनु भयो।

अहिलेसम्म भवन निर्माणको ४० प्रतिशत कार्य सम्पन्न भएको छ । उक्त भवनमा संस्थागत रुपमा एक कोठा निर्माण गर्न चाहेमा ११ लाख ११ हजार १ सय ११ रुपैयाँ र व्यक्तिगत रुपमा कोठा निर्माण गर्न चाहेमा ५ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गरी कोठा निर्माण गर्न सकिने भवन निर्माण समितिले जनाएको छ ।

अहिलेसम्म संस्थागत रुपमा ९ वटा र व्यक्तिगत रुपमा ३ वटा कोठा निर्माण भइरहेको छ । सडकपेटी एवं सार्वजनिक स्थलहरुमा अति कष्टपूर्ण जीवन विताउन विवश सहयोगापेक्षी वेसहारा, असहाय, अशक्त, अनाथ, शारीरिक तथा मानसिक रूपमा कमजोर व्यक्तिहरुको लागि मानव सेवा आश्रम सहारा बनिरहेको छ । बागलुङको मानवसेवा आश्रममा ५० जना वेसहाराहरुले आश्रय लिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्