२४ बैशाख २०८१, सोमबार

 

पत्रकार विजय रानामाथि कुटपिटबारे छानविन गर्न बनेको समितिले थाल्यो काम

बागलुङ । पत्रकार विजय रानामाथि भएको कुटपिटको घटनाको छानविन गर्न बनेको समितिले आजदेखि काम सुरु गरेको छ । समितिका अध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले आजदेखि कार्य प्रारम्भ गरेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालको नेतृत्वमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बागलुङका अनुसन्धान अधिकृत रंजन पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक बाबु केसी, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेल र नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्त रहेको पत्रकार विजय रानामाथि आक्रमण भएको विषयमा छानविन गर्न गठन गरिएको छानविन समिति गठन भएको थियो ।

मंगलबार जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा छानविन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताउनु भयो । समितिलाई पुस २८ गतेसम्म अध्ययन प्रतिवेदन बुझाउनुपर्ने कार्यादेश छ ।

समितिका अध्यक्ष बरालले भन्नु भयो आज बैठक बसेर समितिले पहिलो र दोस्रो चरणमा काम विभाजन गरि अनुसन्धान अगाडि बढाउन लागेको छु ।नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानामाथि गत शनिबार राती बागलुङ महोत्सवमा हेर्न आएको युवालाई प्रहरीले कुटपिट गरेको दृष्य खिच्न खोज्दा प्रहरीले निर्घात कुटपिट गरेको थियो ।

यस विषयमा पत्रकार रानाले राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशमा पनि घटनाको छानविन गरि दोषी उपर कारवाहीको सिफारिस गर्न उजुर दिएका थिए । यस विषयमा मानव अधिकार आयोगले दुख व्यक्त गर्दै जिल्ला प्रशासन कार्यालय बागलुङ र जिल्ला प्रहरी कार्यालय बागलुङलाई यस घटनाको विषयमा जवाफ मागेको छ ।

यस विषय मंगलबार जिल्ला प्रशासन कार्यालय बागलुङमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय रानाको नेतृत्वको टोलीले घटनामा संग्लन प्रहरीलाई कानुनी कारवाही गर्न डेलिगेसन गएका थिए ।

यस विषयमा नेपाल पत्रकार महासंघ बागलुङ, गण्डकी प्रदेश र केन्द्रीय समिति तथा प्रेस चौतारी बागलुङ, नेपाल प्रेस सेन्टर जिल्ला समिति बागलुङ, नेपाल प्रेस युनियन बागलुङ, र प्रगतिशिल पत्रकार संगठन केन्द्रीय समितिले विज्ञप्ती प्रकाशित गरेर घटनाको बिरोध गर्नुको साथै दोषी उपर कडा कारवाहीको माग गरेको थियो ।

समाचार संकलनको क्रममा पत्रकारले परिचय दिदा पनि कुटपिट हुनु प्रेस स्वतन्त्रता बिरोधी घटना भएको बिज्ञप्तीमा उल्लेख छ । पत्रकार रानाले आफूले न्याय नपाएमा अदालत जाने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्