१७ बैशाख २०८१, सोमबार

 

अर्ना जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

बागलुङ । अर्ना जेसीज कप फुटबल प्रतियोगिताको दोस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष रविन पोखरेलले शनिबार प्रयोतिगिताको उद्घाटन गरेका हुन् । प्रतियोगिता फागुन २७ देखि चैत २ गतेसम्म चल्ने छ ।

उक्त अवसरमा बोल्दै अध्यक्ष पोखरेलले युवाहरुलाई खेलकुदको माध्यमबाट जोड्न जेसीजले प्रयत्न गरिरहेको बताए । उनले जेसीज वर्ष २०२४ ले नेपाल सरकारसँग मिलेर प्रेरणा र युवा शसक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने पनि सुनाए ।

कार्यक्रममा बागलुङ नगरपालिका(२ का अध्यक्ष सुरज बोसेल, बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, अखिल नेपाल फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले मन्तव्य व्यक्त गरेका थिए ।

बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको सञ्चालन र नेपाल जेसीजका उपाध्यक्ष सौरभ श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । आइतबारदेखि प्रतियोगिताका खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

जेसीज कपको पहिलो संस्करणको उपाधि नेपाली सेनाको श्री मेहर गणले जितेको थियो ।प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका क्लबहरूले सहभागिता रहने छ । प्रतियोगितामा सहभागिता जनाउने क्लबहरूले दुई जना विदेशी खेलाडीहरु राख्न पाउने व्यवस्था गरिएको बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले बताए ।

प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।द

प्रतिक्रिया दिनुहोस्