१७ बैशाख २०८१, सोमबार

 

बागलुङ सुधार केन्द्र र फुटबल संघ म्याग्दी अर्ना जेसीज कपको क्वाटरफाइनलमा प्रवेश

बागलुङ । बागलुङमा दोस्रो संस्करणको अर्ना जेसीज कप फुटबल प्रतियोगिता आतबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बागलुङ सुधार केन्द्र र जिल्ला फुटबल संघ म्याग्दी विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

उद्घाटन खेलमा विदेशी खेलाडी साम्बो ओस्कारको ह्याट्रिक मद्धतमा बागलुङ सुधार केन्द्रले चिल्ड्रेन लाइफ स्पोर्टस् क्लब बागलुङलाई ५–० गोलअन्तरले पराजित गर्यो । दुई विदेशी खेलाडी सहित मैदान उत्रिएको बागलुङ सुधार केन्द्रको लागि खेलको ५ औं मिनेटमा अविसेक रानाले गोल गरेका थिए ।

खेलको १४ औं मिनेटमा पहिलो गोल गरेका साम्बोले १६ औँ र २८ औँ मिनेटमा गोल गर्दै आफ्नो र प्रतियोगिताको पहिलो ह्याट्रिक पुरा गरेका थिए ।

पहिलो हाफ ४–० ले अग्रता लिएको बागलुङ सुधार केन्द्रले दोस्रो हाफमा १ गोल गर्दै जित सुनिश्चित गरेको हो । सुधार केन्द्रको लागि दोस्रो हाफको ३३ औं मिनेटमा बेनम थकालीले गोल गरेका थिए । दोस्रो हाफमा केही सुधारिएको खेल प्रदर्शन गरेको चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबले गोल गर्न भने सकेन् । बागलुङ सुधार केन्द्रले मंगलबार गुठी युनाइटेडसँग खेल्नेछ ।

यस्तै आइतबार भएको दोस्रो खेलमा जिल्ला फुटबल संघ म्याग्दीले लालदुर्गा फुटबल क्लबलाई ४–२ गोलअन्तरले पराजित गरेको छ ।

म्याग्दीले खेलको दोस्रो मिनेटमै सनम विकको गोलबाट अग्रता लिएपनि खेलको ८ औँ मिनेटमा लालदुर्गाका अनिश तामाङले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । म्याग्दीको लागि खेलको २५ औँ मिनेटमा विपुल कार्कीले गोल गर्दै पहिलो हाफमा म्याग्दीलाई २–१ को अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुवातदेखि आक्रमक खेल प्रदर्शन गरेको म्याग्दीको लागि दोस्रो मिनेटमा मनिष श्रेष्ठले गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

लालदुर्गाको लागि दोस्रो हाफको १२ औँ मिनेटमा लाक्पा तामाङले गोल गर्दै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए । दोस्रो हाफको २५ औँ मिनेटमा सनम विकले गोल गर्दै म्याग्दीलाई ४–२ को गोल सुनिश्चित गरे । म्याग्दीले मंगलबार हुने खेलमा साविक विजेता श्रीमेयर गणको सामना गर्ने छ ।

प्रतियोगिताको दोस्रो दिन सोमबार मुलपानी फुटबल क्लब विरुद्व रुद्रेपिपल युथ क्लब र संकल्प पुर्नस्थापना केन्द्रविरुद्व आदर्श स्पोर्टस् क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

चैत २ गतेसम्म संचालित हुने प्रतियोगितामा साबिक धौलागिरि अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका १२ वटा क्लबहरूले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः १ लाख ५५ हजार ५ सय ५५ र ७५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्