१५ बैशाख २०८१, शनिबार

 

निसीखोला बालिका बलात्कृत घटना : आरोपित विजय मल्लले दिएका थिए ‘गर्भपतन’ गराउन १ लाख ६ हजार

बागलुङ । १४ वर्षीया बालिकालाई करणी गरी गर्भपतन गराउन आरोपित युवाले पैसाको चलखेल गरेको भेटिएको छ । बागलुङकी १४ वर्षीया बालिकालाई करणी गरी पेटमा गर्भ बसेको थाहा पाएपछि गर्भपतन गराउन पैसाको चलखेल गरेको पाइएको हो ।

बालिकालाई करणी गरेको आरोप लागेका निसीखोला गाउँपालिका-१ का विजय मल्लले गर्भपतन गराउन बालिकाको दिदीको खातामा १ लाख ६ हजार रुपैयाँ हालिदिएको भेटिएको हो ।

पारिवारिक स्रोतका अनुसार युवाको सल्लाहअनुसार फागुन १९ गते गर्भपतनका लागि बालिकालाई बुटवल पठाइएको थियो । ‘पारिवारिक सल्लाहमा बुटवल पठाएका थियौं,’ स्रोत भन्छ, ‘बालिकाको उमेर सानो र पेटमा बसेको बच्चाको समय अवधि धेरै भएपछि डाक्टरले गर्भपतन गर्न अस्वीकार गरेका थिए ।’

अस्वीकार गरेपछि बालिका बागलुङ फर्किएकी थिइन् । ‘आरोपित मल्लले गर्भपतन गराउन १ लाख ६ हजार बालिकाकी दिदीको खातामा हालिदिएका थिए,’ स्रोत भन्छ, ‘गर्भपतन गर्न डाक्टरले अस्वीकार गरेपछि गाउँमा मिलाउने प्रयास गरिएको थियो ।’ गाउँमा मिल्न स्थानीयले बालिकाको परिवारलाई दबाब दिएका थिए ।

‘गाउँमा मिल्न धेरै पटक बैठकहरु बसे, स्थानीय जनप्रनिधि पनि बैठकमा सहभागी छन,’ एक स्थानीयले भने, ‘उजुरी दर्ता गर्न इलाका प्रहरी कार्यालय बुर्तिबाङ गएका बालिकाको परिवारलाई जाहेरी दर्ता बिनै फिर्ता बोलाइएको थियो ।’

स्थानीय प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता नभएपछि बालिकाको परिवार जिल्ला प्रहरी कार्यालय पुगेर शुक्रबार जाहेरी दर्ता गरेका छन् ।

उजुरी दर्ता गर्न जिल्ला प्रहरी कार्यालय बागलुङ पुगेका बेला बालिकालाई असहज भएपछि धौलागिरि अस्पताल लगिएको थियो । प्रहरीको महिला सेलमार्फत अस्पताल लगिएकी बालिकाले शनिबार बिहान ३ बजे छोरीलाई जन्म दिएको धौलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले जानकारी दिए ।

उनका अनुसार शिशुलाई एसएनसीयूमा राखेर उपचार भइरहेको छ । बालिकाको स्वास्थ्य अवस्था सामान्य छ । जाहेरी दर्तापछि आरोपित विजय मल्ल फरार भएका छन् ।फराह विजय मल्ल विवाहित पुरुष हुन् ।

‘बालिका जिल्ला प्रहरी कार्यालय गएको सूचना पाएलगत्तै युवा फरार छन्,’ एक स्थानीयले भने, ‘बजारमा रहेको मोबाइल पसल पनि बन्द छ ।’

बालिकाको परिवारले जाहेरी दिएपछि आरोपित युवाको खोजी कार्य जारी भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्