१८ बैशाख २०८१, मंगलवार

 

जिल्ला प्रशासन कार्यालयद्वारा मानव सेवा आश्रममा अनुगमन

बागलुङ । बागलुङका प्रमुख जिल्ला अधिकारी सहितिको टोलीले बागलुङ नगरपालिका – ३ स्थित किनारा टोलमा रहेको मानव सेवा आश्रमको अनुगमन गरेको छ ।  बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बराल लगाएतको टोलीले आश्रमको अवस्थाको वारेमा अनुगमन गर्नु भएको थियो ।

टोलीले आश्रमको भान्छा, खाना खाने कोठा, औषधी उपचार कक्ष र आश्रितहरु सुत्ने कोठाको समेत अनुगमन गरेको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले आश्रमलाई प्राप्त हुने आर्थिक तथा भौतिक सहयोग र आश्रममा नियमित औषधी सेवन गर्ने विरामीको बारेमा समेत जानकारी लिनु भएको थियो ।

बेसाहारा मानिसहरुलाई आश्रयस्थल दिएर उनीहरुको सेवामा समर्पित हुनु चानचुने मानवीय सेवा नभएको भन्दै मानवता प्रबद्र्धनमा आश्रमको महत्वपुर्ण योगदान रहेको उहाँले बताउनु भयो । सो अवसरमा मानव सेवा आश्रमका संयोजक विपना तामाङले आश्रमको अवस्थाको वारेमा जनकारी गराउनु भएको थियो ।

आश्रममा ५१ जना अपाङ्ग, अशक्त र सहयोगापेक्षी मानवहरू रहेका छन् । मानव सेवाप्रति सबैको भावना जागृत गराउन आवश्यक रहेको भन्दै आश्रममा रहेका व्यक्तिको राम्रो हेरचाह भएको पाईएको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताउनु भयो । जसको कोही हुदैनन् उसको लागि आश्रम अत्यन्त उपयोगी भएको बताउनु भयो ।

आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बागलुङ नगरपालिका – ४ निर्णयघाटमा निर्माण हुदै गरेको मानव सेवा आश्रमको भवनको वारेमा जानकारी गराउनु भएको थियो । प्रदेश तथा स्थानीय तहहरुको सहयोगमा भवन निर्माण भैरहकोले र सहयोग गर्न चाहने सस्थाहरुले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेमा कोठाको नाम संस्थाको राखिने र व्यक्तिको हकमा एक कोठा बनाउन ५ लाख ११ हजार १सय ११ रुपैयाँ रहेको जानकारी दिनु भयो ।

। मानव सेवा आश्रम बागलुङले गण्डकी प्रदेश सरकार, स्थानीय तह तथा दानदाताको सहयोगमा आधुनिक भवन निर्माण गरिरहेको छ । ५ रोपनी क्षेत्रफलमा आधुनिक भवन निर्माणको काम पचास प्रतिशत सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्