४ असार २०८१, सोमबार

 

श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई

बागलुङ । जिल्लामा स्थापित सर्वाधिक राशीको ‘श्री राधाकृष्ण राष्ट्रिय सनातन धर्म पुरस्कार’ बाट यस वर्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजलाई प्रदान गरिएको छ । श्री राधाकृष्ण मन्दिर सेवा समिति बागलुङले मन्दिरका प्रथम अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापना गरेको डम्बर स्मृति पुरस्कार कोषबाट शनिवार ज्ञानानन्द सरस्वती महाराजलाई पुरस्कार प्रदान गरिएको हो ।

पोखरा विश्व विद्यालयका उपकुलपती प्रा डा नारायण अर्यालले सरस्वती महाराजलाई सम्मानपत्र र नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ राशीसहित पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंकी अध्यक्ष रसुमिला श्रेष्ठले हरेक समाजको विकास आफनो मौलिक धर्म ,संस्कृति ,परम्परा र सतचरित्र संरक्षण र विकास गरेर मात्र हुने भएकोले यसको संरक्षणमा लागेका प्रतिभाहरुलाई सम्मान गर्न अवसर सृजना हुनु सुखद घटना भएको बताईन ।

उनले आफ्नो परिवार र राधाकृष्ण मन्दिर सेवा समिति मिलेर डम्मर स्मृति राष्ट्रिय पुरस्कारलाई अझ व्यवस्थित र समृद्ध रुपमा अगाडि बढाउने विचार व्यक्त गरेकी छिन । हरेक देशको भाषा, संस्कृति र परम्पर जोगाउन सबै लागे मात्र समाजको पहिचान सुरक्षित हुने पोखरा विश्व विद्यालयका उपकुलपती प्रा डा नारायण अर्यालले बताउनु भयो ।

पूर्वीय दर्शन र सभ्यतामा भएको सकरात्मक पक्षहरुको संरक्षण तथा प्रचार प्रसारमा सबै लाग्नु पर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवदीले पनि मन्तव्य व्यक्त गरेका थिए ।

पुरस्कार ग्रहणपछि बोल्दै श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले राष्ट्र र राष्ट्रियतालाई जोगाउनका लागि धर्म संस्कृति संरक्षणको आवश्यकता औंल्याए । उनले भने, ‘त्यसका लागि धर्म, संस्कृति र यहाँको मौलिकपन जोगाउने संकल्प हामीले गर्नुपर्छ।’ हामी सबैले आफनो कर्तव्य पालना गर्न सके त्यसको प्रतिफल सबैले पाउने बताउनु भयो ।

मैले सुरुमा यो पुरस्कार लिने विचार गरेको थिएन, अरुलाई नै दिदा राम्रो हुन्छ उनीहरुमा उत्साह जाग्छ भनेको थिए तर पछि जब मैले डम्बर श्रेष्ठको अनुहार सम्झे त्यसपछि यो पुरस्कार लिने सोच बनाए । ‘मैले पूर्वीय वेदान्त दर्शन जोगाउन लागि परेको छु त्यसको लागि सबैको सहयोग चाहिएको छ,’

कार्यक्रममा राधाकृष्ण मन्दिर सेवा समितिका निर्माण कुमार श्रेष्ठले श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजको परिचय प्रस्तुत गर्नु भएको थियो । राधाकृष्ण मन्दिर सेवा समितिका अध्यक्ष रमेशकुमार राजभण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भरत कुमार श्रेष्ठ र संचालन सचिव हरि प्रसाद शर्माले गरेको थिए।

प्रतिक्रिया दिनुहोस्