बागलुङ । बागलुङको बडिगाड गाउँपालिकामा एक हप्ते डकर्मी सीप विकास तालिम सुरु भएको छ । पालिकाका १० वटै वडाबाट ४ जनाको प्रतिनिधित्व हुने गरी ४० जनालाई तालिम प्रदान गर्न लागिएको हो ।
युवा स्वरोजगार कार्यक्रम अन्तर्गत चालु आ.व. २०८०/०८१ को नीति तथा कार्यक्रम बमोजिम प्रत्येक वडामा कम्तिमा ४ जना दक्ष डकर्मी उत्पादन गर्ने र स्वरोजगार सिर्जना गरी आत्मनिर्भर बनाउने उद्धेश्यले तालिमको सुरुवात गरिएको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा हुने विकास निर्माणका कामसँँगै पालिकाबाट हुने योजना र उपभोक्ता समिति मार्फत सञ्चालन हुने निर्माणका कामहरुमा समेत उनीहरुलाई सहभागी गराएर गुणस्तरीय काम गर्ने पालिकाको लक्ष्य रहेको उहाँको भनाई छ ।
तालिम अवधीभर काठको काम, रंगरोगन, प्लाष्टर, जानी बुन्ने तथा भर्ने, मेसिनरी वाल लगाउने र प्लम्बिङ सम्बन्धी सीप प्रदान गरिने बताईएको छ । तालिममा ५ जना महिलाहरु पनि सहभागी छन् । तालिमको ९ जना ईन्जिनियरले सहजिकरण गरिरहेका छन् ।
गाउँपालिकाका ईन्जिनियर दिनबन्धु शाहले उपभोक्ता समिति मार्फत हुने कामहरुमा गुणस्तर सिर्जना गर्न यो तालिम फलदायी हुने बताउनुभयो । तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफ्नो वडामा सञ्चालित योजनाहरुमा उपभोक्ता समितिले अनिवार्य रुपमा काममा लगाउनुपर्ने उहाँको भनाई छ ।
त्यस्तै तालिममा सहभागी प्रशिक्षाथीहरुले आफ्नो वडामा दुई वटा सुधारिएको धुँवा रहित चुलो निर्माण गर्नेछन् । त्यसका लागि उनीहरुको सीप र पालिकाको लगानी रहनेछ । गाउँपालिकाभर ३ हजार सुधारिएको चुल्हो निर्माण गरी पालिकालाई धुँवा रहित पालिका निर्माण गर्ने पालिकाको योजना छ ।
पालिकाले उनीहरुलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गराउने बताएको छ ।



































































































































































































