५ कार्तिक २०८३, बुधबार

 

बागलुङ नगरप्रमुख श्रेष्ठलाई नागरिकको प्रश्न व्यवस्थित ढल निकास कहिले हुन्छ ?

बागलुङ । बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षको तेस्रो चौमासिक अन्तरर्गत सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।

बागलुङ नगरपालिका १ रामरेखामा आयोजित सार्वजनिक सुनुवाईमा १७ जना नागरिकले समग्र नगरपालिकाको समस्या, खानेपानीका समस्या, सरसफाई, ढल निकास, सडकपेटी र सुरक्षा लगायतको विषयमा प्रश्न तथा गुनासो गरेका थिए ।

वर्खा याममा समस्याको रुपमा रहेको ढल निकासको व्यवस्थित समाधान कहिले हुन्छ भनि नागरिकले प्रश्न गरेका थिए ।

धुव्र प्रसाद शर्मा, निरज शाक्य, देवी प्रसाद पाठकले खानेपानीको समस्या र बक्यौता उठाउने विषयका सन्दर्भमा प्रश्न गर्नुभएको थियो । उहाँहरुले खानेपानी धमिलो आएको बताउदै नगरपालिकाको ध्यानाकर्षण गराउनु भएको थियो ।

यस्तै अनन्तबहादुर खड्काले किसानको समस्या, युवा पलायनको समस्या र स्थानीय जातको धानको संरक्षणका विषयमा प्रश्न राख्नुभएको थियो । टेकबहादुर क्षेत्रीले कृषि ज्ञान केन्द्रको भवनमा पूर्वाधार बनाउन नमिल्ने बताउनुभयो ।

सार्वजनिक सुनुवाईमा कमल खड्काले बसपार्क र बलेवा विमानस्थल कहिले चल्छ भनेर नगरप्रमुखलाई प्रश्न राख्नुभएको थियो ।

सार्वजनिक सुनुवाईमा जगन्नाथ कँडेल, रणसिंह बोहोरा, रुद्र महत, सुमन बोहोरा, नारायण प्रसाद शर्मा, शालिक सापकोटा, थानेश्वर सुवेदी, सुमित्रा शर्मा, कुन्ती सापकोटा, विष्णु खत्री, महेन्द्र आचार्य र कृष्ण शर्माले नगरपालिकाको सेवा प्रवाह चुस्त बनाउदै लैजानुपर्ने, सिसि क्यामेराको संख्या बढाउनुपर्ने, ढलको निकास निकाल्नुपर्ने, प्राविधिकहरुको काम सुधार्नुपर्ने लगायतका विषयमा प्रश्न राख्नुभएको थियो ।

प्रश्नहरुको जवाफ दिदै नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले नागरिकको गुनासो सुनेर सम्बोधन गर्नका लागि गाउँ–गाउँमा पुगेको बताउदै गुनासोलाई सच्चाएर नगरपालिका अगाडी बढ्ने बताउनुभयो ।

उहाँले जनता, कर्मचारी र जनप्रतिनिधि मिलेर मात्रै विकास संभव भएको बताउनुभयो । नगरपालिकाप्रति आएको गुनासोलाई लिपिवद्ध गरेर क्रमश सुधार गर्न तर्फ नगरपालिका अग्रसर भइरहेको बताउनुभयो ।

उहाँले बागलुङ बजारका सडकका खाल्टाखुल्टी मर्मत गर्ने, नाली सरसफाई गर्ने र फोहोर व्यवस्थापनमा नगरपालिकाले छिट्टै काम गर्ने बताउनुभयो ।

बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाको ८६ प्रतिशत प्रगती भएको बताउनुभयो ।

उहाँले केही बजेट केन्द्रले नपठाउदा एक दर्जन योजना कार्यान्वयनमा नगएको बताउदै अन्य योजना सम्पन्न भइसकेको बताउनुभयो । कार्यक्रममा उठेका जिज्ञासा नगरप्रमुख सहित खानेपानीका कार्यवहाक अध्यक्ष हरि बहादुर जिसी, बागलुङ नगरपालिका १ का वडा अध्यक्ष जयबहादुर केसी, तथा नगरपालिकाका शाखा प्रमुखहरुले दिनुभएको थियो ।

सार्वजनिक सुनुवाई नगरप्रमुख बसन्त कुमार श्रेष्ठको अध्यक्षता, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाको सहजिकरण, पत्रकार नारायण रिजालद्वारा सन्तुष्टी सर्वेक्षण प्रतिवेदन तथा पत्रकार सुवास गौतमले आचार संहिता प्रस्तुत गर्नुभएको थियो । पत्रकार प्रकाश बरालले कार्यक्रममाथि टिप्पणी राख्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung