गण्डकी । पछिल्लो समय ‘स्टार्टअप’ व्यवसायमा युवा पुस्ताको आकर्षण बढ्दो छ । सिर्जनशील सोच भएका यहाँका केही युवाहरूले अनलाइनमार्फत जीवनसाथी खोज्न सघाउने ध्येयले ‘लमी म्याट्रिमोनी सर्भिसेस’ कम्पनी खोलेका छन् ।
कम्पनीका सामाजिक सञ्जाल व्यवस्थापक निशान सापकोटाले फेसबुक, इन्स्ट्राग्रामबाट उक्त सेवा सुरु गरिएको जानकारी दिनुभयो ।
“छिट्टै कम्पनीको एप र वेबसाइट सञ्चालनमा ल्याउँदै छौँ”, उहाँले भन्नुभयो, “अनलाइनमार्फत प्रेम जोडी र जीवनसाथी खोज्न सघाउने उद्देश्यले यो व्यवसाय सुरु गरेका हौँ ।”
उहाँका अनुसार फेसबुकमा रहेको ‘लमी-म्यारी फर रिजन’ र इन्स्ट्रागाममा ‘लमी-नेपाल’ पेजमार्फत उक्त व्यवसाय प्रवर्द्धनको काम भइरहेको छ ।
“इच्छुक युवा वा युवतीले हाम्रो पेजमा सन्देश पठाउँदा साथ उहाँकोमा फारामसहितको गुगल लिङ्क पुग्छ”, सापकोटाले भन्नुभयो, “फाराममा व्यक्तिगत विवरण भरेर पठाएपछि दुई पक्षबिचमा समन्वयको काम हामीले गर्छौ ।”
उहाँले पूर्ण रूपमा व्यक्तिगत गोपनीयता कायम गरिने बताउनुभयो । सम्बन्धित व्यक्तिले इच्छाएको खण्डमा मात्र व्यक्तिगत विवरण अनलाइन माध्यममा सार्वजनिक गर्ने गरिएको उहाँले बताउनुभयो ।
तत्काल केही समयलाई निःशुल्क सेवा दिइरहेको कम्पनीले पछि उक्त सेवाबापत न्यूनतम शुल्क कायम गरिने जनाएको छ ।
हालसम्म ५० जना भन्दा बढी सम्पर्कमा आई व्यक्तिगत विवरण पठाएको सापकोटाले जानकारी दिनुभयो । व्यक्तिगत विवरण सार्वजनिक गर्न नचाहने व्यक्तिलाई गोप्य माध्यमबाट सम्पर्क र समन्वय गराइदिने काम कम्पनीका प्रतिनिधिले गर्ने गरेका छन् ।
व्यक्तिगत इमेल ठेगाना र टेलिफोन अनिवार्य चाहिने भएकाले अनावश्यक व्यक्तिले विवरण पठाउने सम्भावना नरहने सापकोटाले बताउनुभयो ।
योसँगै काठमाडौँमा विवाहका लागि फोटो, भिडियो र इभेन्ट म्यानेजमेन्ट सेवा सुरु गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो । कम्पनीमा बागलुङका सापकोटासहित छ जना युवा आबद्ध छन् ।
जीवनसाथी खोज्न सघाउने ‘बिहे नेपाल’लगायतका एप सञ्चालनमा छन् ।













































































































































































































