१६ कार्तिक २०८३, आईतवार

 

बडिगाड पहिरो : थप दुई जनाको शव फेला, एक अझै बेपत्ता

बागलुङ । सोमबार रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

बिहीबार दुई जना, बुधबार १ र मंगलबार ८ गरी ११ जनाको शव पहिरोबाट निकालिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

नेपाल प्रहरी, नेपाली सेनाको श्रीमेहर गण र सशस्त्र प्रहरीको टोलीले बिहीबार दिउँसो ७ वर्षीय मधु बुढा र १० वर्षीय मनोज बुढाको शव घटनास्थलबाट उत्खनन् गरेर निकालेको हो ।

घटनामा अझै ११ वर्षका एक बालक बेपत्ता छन् । उनीहरुको तीन दिनदेखि खोजीकार्य भैरहेको थियो ।

पहिरोमा परी घाइते भएका तीन जनाको राष्ट्रिय ट्रमा सेन्टरमा निशुल्क उपचार भइरहेको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताउनु भयो ।

बडिगाड गाउँपालिका वडा नं ९ बलघाँसको दुई घर र वडा नं १० आरुपाटाका तीन घर भत्केको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले नयाँ विश्वलाई जानकारी दिनु भयो ।

पहिरोपीडितहरुलाई राहत र पूर्ण स्थापनाको लागि तत्काल सबै सरोकारवालाहरुको बैठक राखेर एक द्धार प्रणाली मार्फत प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराइने सुवेदीले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung