बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले नेपाल प्रहरी श्रीमती संघको ४० औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
वार्षिकोत्सको उपलक्ष्यमा बिहीबार बागलुङ नगरपालिका-४ कुँडुलेस्थित कुँडुले माध्यमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
साथै बागलुङ नगरपालिका-३ किनारा टोलमा रहेको मानव सेवा आश्रम बागलुङमा आश्रम लिएर बस्नु भएका अपाङ्ग, अशक्त र सहयोगापेक्षी मानवहरुलाई पनि फलफूल वितरण गरिएको छ ।
नेपाल प्रहरी श्रीमती संघको वार्षिकोत्सव रचनात्मक कार्यक्रम गरी मनाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले नयाँ विश्वलाई बताउनु भयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक विजय यादव र प्रहरी निरीक्षक प्रताप पौडेलको पनि उपस्थिति रहेको थियो ।
लामो समयदेखि हाम्रो अभियानमा साथ दिर्दै आउनु भएको प्रहरी संगठनले आफनो वार्षिकोत्सव हामी कहाँ आएर मनाउनु हुँदा हामी साह्रै हर्षित भएको मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले बताइन् ।
जिल्ला प्रहरी कार्यालयले सडकमा असुरक्षित ढंगले रहेका नागरिकहरुको उद्धार र आश्रमको सुरक्षामा सहयोग गरि रहेको छ ।
विसं २०७३ देखि बागलुङको शाखा स्थापना गरेर सेवा दिँदै आएको आश्रमले विसं २०७८ मा बागलुङ नगरपालिका–४ निरयघाटमा जग्गा प्राप्त गरेपछि सुविधा सम्पन्न भवन निर्माण गर्न थालेको हो ।
आश्रममा हाल महिला २२, पुरुष २४ र बालबालिका सात गरी ५३ जना सहयोगापेक्षी आश्रित रहेका छन् ।
















































































































































































































