बागलुङ । नेकपा माओवादी केन्द्र जिल्ला समिति बागलुङका संयोजक राजिव घिमिरेले अविरल वर्षापछि बडिगाडमा आएको पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
बिहीबार उनले प्राकृतिक प्रकोपबाट पीडित नागरिकको लागि राहत संकलन र पुन:स्थापनामासक्रिय हुन जिल्लाका सम्पूर्ण पार्टी सदस्य र जनवर्गिय संगठनका सदस्यहरुलाई आव्हान गर्नु भएको हो ।
उनले पहिरोपीडितहरुलाई तत्काल राहत र पुन:स्थापनामाको प्रयासमा सार्थक हातेमालोका निम्ति पनि सम्पूर्ण जनप्रतिनिधिहरु, राजनीतिक दल, नागरिक समाज र सामाजिक संस्थाहरूसँग अपिल गरेका छन्।
बडिगाड गाउँपालिकाको पार्टी सचिव तथा बडिगाड गाउँपालिका – १० आरुपाटाका वडा अध्यक्ष वीरेन्द्र वुढा तथा पार्टीउपाध्यक्ष तथा पूर्व वडा सदस्य शक्तिराम थापाको नेतृत्वमा पार्टीको कमरेडहरु उद्दार, राहत र व्यवस्थापनमा जुट्ेकोले सबैले पीडितलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।
गत सोमबार रातिदेखि परेको अविरल वर्षापछिको पहिरोले बडिगाड गाउँपालिका – ९ बलघाँस र १० आरुपाटामा ११ जनाको मृत्यु भएको थियो भने अझै एक जना बेपत्ता छन् ।
पहिरोले एक घर पूर्ण रुपमा नष्ट भएको र ४३ परिवार प्रभावित भएका छन्।
अविरल वर्षाका कारण विस्थापित हुन पुगेका परिवारलाई अस्थायी रूपमा सामुदायिक विद्यालय र आफन्तको घरमा राखिएको छ ।



















































































































































































































