बागलुङ । युवाहरुको नेतृत्व र क्षमता विकासमा सक्रिय बागलुङ जेसीजले जेसीज सप्ताह २०२४ विभिन्न कार्यक्रमका साथ शुरु गरेको छ ।
७ दिनसम्म विभिन्न कार्यक्रमका साथ मनाउन सुरु गरिएको सप्ताहको पहिलो दिन उद्घाटन तथा युवा सम्मान कार्यक्रम गरिएको छ ।
सप्ताहको उद्घाटन जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले गर्नु भएको थियो ।
कार्यक्रममा समाज रहेर विभिन्न क्षेत्र मार्फत उत्कृष्टता तथा सफलता हासिल गर्ने २ जना युवालाई सम्मान गरिएको छ ।
बानपा ७ का ग्रिनल्याण्ड बहुउद्देश्यीय कृषि फर्मका संचालक ओमराज शर्मा र बानपा ३ स्थित मिलन ट्याटु एण्ड आर्ट ग्यालरीका संचालक कलाकार मिलन खत्री युवा सम्मानबाट सम्मानित भएका हुन् ।
त्रिभुवन विश्व विद्यालय अन्तरगत धौलागिरि बहुमुखी क्याम्पसका विद्यार्थी निरुता शर्मा पनि सम्मानित हुनु भएको छ ।
उनी पोखरा जेसीजले आयोजना गरेको प्रदेश स्तरीय वक्तृत्व कलामा प्रथम भएकी थिइन् ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले हरेक क्षेत्रलाई सफल बनाउका लागि नवयुवाहरुमा सकरात्मक चिन्तन र जिम्मेवारीको भावना आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सचिव विजय राना, नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्य, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष सौरभ श्रेष्ठ र सम्मानित व्यक्तित्व ओमराज शर्माले मन्तव्य व्यक्त गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रमको बारेमा मूल संयोजक बलाराम कँडेलले जानकारी दिनु भएको थियो ।
कार्यक्रम बागलुङ जेसीजका शाखा अध्यक्ष गणेश महतोको अध्यक्षता र महासचिव ताराप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।
सप्ताहको दोस्रो दिन बुधबार होटल दि राजनमा शेयर बजार सम्मन्धी तालिम हुने भएको छ ।
प्रशिक्षक सुभाशचन्द्र भट्टराईले तालिम दिनु हुने बागलुङ जेसीजले जनाएको छ ।






















































































































































































































