४ श्रावण २०८३, सोमबार

 

बागलुङ बसपार्कमा विद्युतीय गाडीको चार्जिङ स्टेशन निर्माण

बागलुङ । पछिल्लो समय बढेको विदुतीय सवारीसाधनलाई लक्षित गरी बागलुङमा पहिलोपटक विद्युतीय चार्जिङ स्टेशन निर्माण गरिएको छ ।

बागलुङ नगरपालिका-४ उपल्लाचौरको दाबगरामा सञ्चालनमा आएको बागलुङ बसपार्कमा विद्युतीय सवारी साधन चार्ज गर्न चार्जिङ स्टेशन निर्माण गरिएको छ ।

धौलागिरि गण्डकी यातायात प्रालिले बसपार्कमा विद्युतीय गाडी चार्ज गर्न सुविधा होस भनि सोमबारदेखि चार्जिङ स्टेशन सञ्चालनमा ल्याइएको हो ।

पुष्पलाल मध्यपाहाडी लोकमार्ग र बेनी बागलुङ सडक मार्ग हुँदै ओहोरदोहोर गर्ने विद्युतीय गाडीलाई चार्ज गर्ने सुविधा प्रदान गर्ने उद्देश्यले चार्जिङ स्टेशन स्थापना गरिएको धौलागिरि गण्डकी यातायात प्रालिका अध्यक्ष उमेश केसी बताउनुभयो ।

साथै समितिले सञ्चालनमा ल्याएको विद्युतीय माइक्रो बसलाई चार्जिङ गर्न पनि धेरै सहज भएको छ ।

“विद्युतीय सवारीसधानको प्रयोग बढी भइरहेको छ, चार्जिङ स्टेशन नहुँदा समस्या थियो, अहिले बागलुङ बसपार्कमा एउटा चार्जिङ स्टेशन निर्माण गरेका छौं, आगामी दिनमा एकैपटकमा धेरै सवारीसाधन चार्ज गर्ने स्टेशन बनाइनेछ” केसीले भन्नुभयो ।

बागलुङ नगरपालिकासँग सम्झौतापछि प्रालिले दैनिक २६ वटा वातानुकूलित विद्युतीय माइक्रो बस आधा घण्टाको फरकमा चलाउन थालेको प्रालिका अध्यक्ष उमेश केसीले बताउनु भयो ।

बसपार्कबाट दैनिक पोखराको लागि २० देखि २५ वटा र काठमाडौंको लागि एक वटा विद्युतीय माइक्रो बसहरु चल्न थालेका हुन् ।

चार लाख पर्ने चार्जिङ मेशिन समितिलाई सिजि मोटर्सले उपलब्ध गराएको र जडान खर्च समितिको तीन लाख लागेको अध्यक्ष केसीले नयाँ विश्वलाई बताउनु भयो ।

हरेक दिन बिहानैदेखि चार्जिङका लागि गाडीको लाइन लाग्ने गरेको पनि उहाँले बताउनुभयो ।

बागलुङमा लामो दुरीको लागि निर्माण गरिएको यो पहिलो चार्जिङ स्टेशन हो ।

आगामी वर्षभित्र धेरै गाडी एकै पटक चार्ज गर्न मिल्ने क्षमताको चार्जिङ स्टेशन बनाउने समितिको योजना रहेको केसीले बताउनुभयो ।

बसपार्कमा चार्जिङ मेशिन स्थापनाले विद्युतीय गाडीमा यात्रा गर्नु हुने यात्रुलाई धेरै सहज भएको र सुपथ मूल्यमा यात्रुहरुले पोखरा र काठमाडौं यात्रा गर्न पाएको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले नयाँ विश्वलाई बताउनु भयो ।

अहिले बागलुङदेखि पोखरासम्म रु चार सय ५० मै र काठमाडौंको लागि रु १२ सय ८० मै विद्युतीय गाडीमा यात्रा गर्न सकिने केसीको भनाई छ ।

चार्जिङ स्टेशनमा विद्युतीय सवारीसाधन चार्ज गरेको युनिटका आधारमा खर्च लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung