
बागलुङ । सहकारी ठगी मुद्दाका आरोपी इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको बयान सकिएको छ ।
आज जिल्ला अदालत बागलुङमा नेपालीको बयान लिइएको हो ।बिहान ११ बजे अदालत लगेपछि पौने १२ बजे मात्र नेपालीलाई अदालतमा बयानका लागि बोलाइएको थियो ।
अदालतका स्रेस्तेदार शिवहरि सुवेदीलेले नेपालीको बयान सकिएको नयाँ विश्वलाई बताउनुभयो ।
भारतको दिल्लीबाट गत शुक्रबार पक्राउ परेका नेपालीलाई अनुसन्धानका लागि आइतबार राति बागलुङ ल्याइएको थियो ।
नेपालीलाई साधारण तारेखमा राख्ने, धरौटीमा छोड्ने वा थुनामै राख्ने मुद्दाको पुर्पक्षको सम्बन्धमा दुवै पक्षको बहस भोलि हुने र न्यायाधीसले बहसपछि थुनछेकको आदेश दिनुहुने स्रेस्तेदार सुवेदीले बताउनुभयो ।
जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासमा मंगलबार थुनछेक बहस हुनेछ ।
यदि अदालतले मागे जति बिगो तिर्न नसके नेपाली थुनामा बस्नु पर्ने कानुनी व्यवस्था रहेको छ । यससँगै यो मुद्दाको टुंगो नलागेसम्म नेपाली कारागारमा बस्नुपर्नेछ ।
नेपालीलाई आइतबारदेखि जिल्ला प्रहरी कार्यालय बागलुङको हिरासतमा राखिएको छ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।
सहकारीका बचतकर्ताको १ अर्ब ५४ करोड रुपैयाँ बचत रकम हिनामिना गरी २०८० जेठ ५ मा उनी बुर्तिबाङ बजारबाट सपरिवार फरार भएका थिए।