बागलुङ । नेपाल रेडक्रस सोसाईटी मल्म काँडेबास शाखाले आगलागी र पहिरो पीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ ।
गलकोट नगरपालिका-७ मल्म, सानोखाला निवासी लालबहादुर चोखाल र अरबेदी निवासी प्रेमबहादुर चोखाललाई राहत सामग्री हस्तान्तरण गरिएको हो ।
चोखाल परिवारलाई १६ हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरिएको बताईएको छ । त्रिपाल कम्मल, भाडाँकुडा र कपडा राहत स्वरुप प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी मल्म काँडेबास शाखाका निवर्तमान सचिव छुमबहादुर थापाले जानकारी दिनुभयो ।
सानोखोला निवासी चोखालको गत असोजमा विद्युत सर्ट भएर घरमा आगलागी भएको थियो भने अरबेदी निवासी चोखालको वर्खामा घर पहिरोले जोखिममा परेको थियो ।
राहत वितरण कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाईटी मल्म काँडेबास शाखाका सभापति विष्णु कुमारी मल्लले सरकार, विभिन्न संघसंस्था, देश विदेशमा रहेका वडावासी नागरिकसँग समन्वय र सहकार्य गरेर आपत विपतमा परेका नागरिकलाई तत्काल राहत र पुनर्स्थापनाका लागि पहल गरिने बताउनु भएको छ ।
सभापति मल्लले पीडितको परिवारलाई निरन्तर सहयोग गर्न आफूहरु क्रियाशिल रहने प्रतिवद्धता समेत जनाउनु भयो ।



















































































































































































































