३ श्रावण २०८३, आईतवार

 

गलकोटमा सात वटा सरकारी कार्यालयले गर्यो सार्वजनिक सुनुवाइ

गलकोट । गलकोटमा आज एकीकृत सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

बागलुङमा सेवा प्रवाह गरिरहेका सात वटा कार्यालयहरु जिल्ला प्रशासन कार्यालय बागलुङ, आन्तरिक राजस्व कार्यालय बागलुङ, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वत, मालपोत कार्यालय बागलुङ, पर्यटन तथा उद्योग कार्यालय बागलुङ, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङ र नेपाल टेलिकम बागलुङको संयुक्त आयोजना, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र ताराखोला गाउँपालिकाको सहकार्य तथा नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङको सहजिकरणमा गलकोट नगरपालिका-३ हटियामा सार्वजनिक सेवा प्रवाह सम्बन्धमा एकिकृत सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागिहरुले अनलाईनमार्फत् प्यान नम्वरको लागि फर्म भर्दा दिनभर लाग्ने, ईलाका प्रशासन कार्यालय बुर्तिबाङमा कार्यालयका कर्मचारीले गर्ने व्यवहार उत्तरदायी नभएको, थर संशोधन गर्न जाँदा अनावश्यक दुख दिएको, मध्यपहाडि लोकमार्गको बागलुङ खण्ड कहिलेसम्म कालोपत्रे हुन्छ, ईलाका प्रशासन कार्यालय गलकोटमा नआउनुको कारण, सरकारी कार्यालयका सवारी साधनमध्ये मोटरसाईकलको पास हुन्छ की हुदैन, गलकोटमा मालपोतका अनुसार जग्गाको मूल्य भन्दा कर धेरै किन लागेको, पेट्रोल पम्प सञ्चालन अनुमती प्रदान गरेपछि मापदण्ड नपुगेको भनि पछि फेरी काम रोकिएको, दोहोरो नागरिकता रद्ध गर्ने प्रक्रिया केछ, पालिकामा पाम प्रणाली लागु गर्नुपर्ने, मध्यपहाडि लोकमार्गले निर्माणका क्रममा मनेवामा भत्काईएको सिचाई कुलोको निर्माण कसले गर्ने, मालपोतमा जग्गाको मुल्याङ्कन स्थानीय मूल्य अनुसार गर्नुपर्ने, गलकोट नगरपालिका-८ मा पुल निर्माण अलपत्र परेको, मध्यपहाडि लोकमार्गको हदबन्दी मिटर कति हो, मनेवा हाईड्रोपावर मध्यपहाडि लोकमार्गमै बनेको लगायतका विभिन्न प्रश्न तथा जिज्ञासाहरु राख्नुभएको थियो ।

कार्यक्रममा उठाएका प्रश्न तथा जिज्ञासाको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदी, आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत प्रमोद कुमार श्रीवास्तव, पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय पर्वतका प्रमुख शम्भुप्रसाद आचार्य, मालपोत कार्यालय बागलुङका निमित्त कार्यालय प्रमुख देवेन्द्रबहादुर थापा, पर्यटन तथा उद्योग कार्यालय बागलुङका प्रमुख पारसिंह थापा मगर, जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका ईन्जिनियर संन्ध्या भुजेल र नेपाल टेलिकम बागलुङका प्रमुख सन्तोष कुमार बरालले सहभागिको उत्तर दिनु भएको थियो ।

त्यस्तै कार्यक्रममा सम्पूर्ण कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले आआफ्नो कार्यालयको प्रगति प्रतिवेदन समेत प्रस्तुत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सहसचिव डम्मर बुढा मगर र सदस्य प्रकाश बरालले नागरिक सर्वेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

भने कार्यक्रमको नियमहरु बारे नेपाल पत्रकार महासंघ बागलुङका उपाध्यक्ष सुवास आचार्यले प्रस्तुत गर्नुभएको थियो । त्यस्तै कार्यक्रमको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलले टिप्पणी गर्नुभएको थियो ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीको अध्यक्षता, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अम्मरबहादुर थापाको प्रमुख आतिथ्यता, सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलको स्वागत र नेपाल पत्रकार महासंघ बागलुङका सदस्य संगम घर्ती मगरको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung