बागलुङ । प्रेस सेन्टर नेपाल बागलुङको छैठौँ अधिवेशन तथा सोह्रौं साधारण सभा यही पुष २७ गते बागलुङ बजारमा नेपाल पत्रकार महासंघ बागलुङको सभा हलमा हुने भएको छ।
बुधबार बागलुङ बजारमा बसेको कार्यसमितिको बैठकले अधिवेशन र साधारण सभाको मिति तय गरेको हो ।
अधिवेशनको उद्घाटन नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा प्रेस सेन्टर नेपाल बागलुङका सल्लाहकार राजेशचन्द्र राजभण्डारीले गर्नु हुने भएको छ ।
बैठकले अधिवेशनको लागि प्रगति प्रतिवेदन सचिव अनिष खातीलाई र आर्थिक प्रतिवेदनको लागि कोषाध्यक्ष कृष्ण सापकोटालाई जिम्मेवारी प्रदान गरेको छ ।
अधिवेशनको तयारीको लागि बैठकले पदाधिकारी र सदस्यहरुलाई जिम्मेवारी समेत प्रदान गर्नुका साथै विभिन्न उपसमितिहरु पनि निर्माण गरेको छ ।
बैठकले आर्थिक संकलनको संयोजकमा अध्यक्ष थम्मन थापा, सम्मान उपसमितिको संयोजकमा उपाध्यक्ष सरिता खत्री, निमन्त्रणा उपसमितिको संयोजकमा सचिव अनिष खाती, मञ्च व्यवस्थापन उपसमितिको संयोजकमा दिनेश जिसी, पाहुना सत्कारको संयोजकमा शर्मिला रोका मगर, बागलुङ बजारमा आर्थिक संकलन उपसमिति संयोजकमा दिलिप पर्तेल, प्रचार प्रसार उपसमितिको संयोजकमा विनोद प्रतिक र खाजा व्यवस्थापन उपसमितिको संयोजकमा विपना आचार्यलाई जिम्मेवारी प्रदान गरेको छ ।
बागलुङ महानगरपालिका-२ को पत्रकार महासंघ बागलुङको सभा हलमा हुने उद्घाटन समारोहमा प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य मुकेशचन्द्र राजभण्डारी, गण्डकी प्रदेशका अध्यक्ष अर्जुन काफले, प्रदेश महासचिव सन्तोष गौतम र नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरल, पेशागत संगठनका अध्यक्षहरु र सरोकारवाला निकायहरुका प्रमुखहरुको सहभागिता हुने प्रेस सेन्टर नेपाल बागलुङका सचिव अनिष खातीले जानकारी दिनुभयो ।
अधिवेशन भव्य रुपमा सम्पन्न गर्न प्रेस सेन्टर नेपाल बागलुङले तयारी तीव्र पारेको अध्यक्ष थम्मन थापाले जानकारी दिनुभयो । बैठक प्रेस सेन्टर नेपाल बागलुङ अध्यक्ष थम्मन थापाको अध्यक्षता, उपाध्यक्ष सरिता खत्रीको स्वागत र सचिव अनिष खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































