बागलुङ ।नेकपा एमाले बागलुङ जिल्ला कमिटीले पार्टीका पूर्वअध्यक्ष, पूर्वऊर्जा राज्यमन्त्री तथा संविधानसभा सदस्य रामजी प्रसाद शर्माको स्मृतिमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ ।
पार्टीले बागलुङ नगरपालिका-१ रामरेखामा शर्माको निवासमा मंगलबार श्रद्धाञ्जलि सभा आयोजना गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सदस्य गोविन्द नेपाली, जिल्ला कमिटी बागलुङका अध्यक्ष हिराबहादुर केसी, प्रदेश कमिटी सदस्यहरु ध्रुव केसी, लालबहादुर थापा, गिता शर्मा, डिल्ली राज गौतम, शिव सापकोटा, बागलुङ जिल्ला कमिटीका उपसचिव धनबहादुर परियार, बागलुङ नगरपालिका-५ वडा अध्यक्ष हरि प्रसाद शर्मा र बागलुङ नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माले मृतक आत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्नु भएको थियो ।
श्रद्धाञ्जली सभामा उपस्थिति सबै पार्टीका नेताहरु र महानुभावहरुमा परिवारको तर्फबाट शर्माका दाजु कृष्ण राज शर्माले धन्यवाद व्यक्त गर्नु भएको थियो ।
शर्माले नेकपा एमाले बागलुङको सचिव रुपमा १५ वर्ष, पार्टीको धौलागिरि ईन्चार्ज र केन्द्रीय सदस्य रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।एकीकृत समाजवादी पार्टी स्थापना भएपछि उहाँ गण्डकी प्रदेश अध्यक्षसमेत हुनुभएको थियो ।
शर्माक ६८ वर्षको उमेरमा उपचारको क्रममा भारतमा निधन भएको थियो ।
शर्माले बागलुङमा पञ्चायत कालमा तत्कालिन नेकपा माले पार्टी स्थापना र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निभाउनु भएको थियो ।
पंचायती व्यवस्थाको विरोध र २०४६ सालको परिवर्तनको लागि शर्माले मालेका तत्कालिन नेताहरु मोहनलाल शर्मा, गोविन्द अधिकारी, नरबहादुर थापालगाएतका नेताहरुसँगको सहकार्यमा उल्लेख्य योगदान दिनु भएको थियो ।
कार्यक्रम नेपाल एमाले बागलुङ जिल्ला कमिटीका अध्यक्ष हिराबहादुर केसीको अध्यक्षता र नगर कमिटीका अध्यक्ष रामकृष्ण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।



















































































































































































































