बागलुङ । विद्यामन्दिर पुस्तकालयका पूर्वअध्यक्ष तथा शिक्षासेवी चन्द्रनरसिँह राजभण्डारीको निधन भएको छ । राजभण्डारीको बुधबार ७३ वर्षको उमेरमा काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
राजभण्डारीलाई विहीबार पशुपती आर्यघाटमा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पदाधिकारी र सदस्य, उहाँका समकालिन साथीहरु र वामपन्थी नेताहरुले अन्तिम श्रद्धाञ्जली र शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेका थिए ।
राजभण्डारीले विसं २०३८ सालदेखि २०४१ सालसम्म पुस्तकालयको अध्यक्षको रुपमा नेतृत्व गरेर पुस्तकालयको संस्थागत विकासमा महत्वपूर्ण योगदान दिनु भएको थियो ।
‘राजभण्डारीले पुस्तकालयमा प्रगतिशिल पुस्तकहरु राख्न ठूलो भूमिका खेल्नु भएको’ पुस्तकालयका पूर्वअध्यक्ष उत्तम प्रसाद श्रेष्ठले बताउनुभयो । ‘उहाँले लेनिनको ४५ वटा रचनालगाएत विभिन्न विश्व प्रसिद्ध दार्शनिकहरु, चिन्तकहरु र साहित्यकारहरुको रचनाहरु राखेर बौद्धिक जागरणमा महत्वपूर्ण योगदान दिनु भएको’ श्रेष्ठले बताउनुभयो ।
विसं २०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर निरकुंश पंचायती व्यवस्थाको स्थापनापछि धौलागिरि क्षेत्रमा लामो समय राजनैतिक गतिविधि सुन्य प्राय अवस्थामा थियो ।
विसं २०२७ सालमा तत्किालिन विद्यार्थी नेताहरु ऋषिराम सापकोटा, चन्द्रनरसिँह राजभण्डारी र काजिगाउँले श्रेष्ठले विद्यार्थी राजनीति मार्फत कम्युनिष्ट विचारधारा फैलाउन र संगठन निर्माणमा महत्वपूर्ण भूमिका निभाएका थिए ।
‘पंचायती व्यवस्थाको विरोध र २०४६ सालको परिवर्तनको लागि राजभण्डारीले तत्कालिन महेन्द्र बहुमुखी क्याम्पस हाल धौलागिरि बहुमुखी क्याम्पसमा अध्ययन गर्नु हुने विद्यार्थीहरुलाई संगठित गर्न र वैचारिक रुपमा उहाँहरुको चेतनास्तर माथि उठाउन प्रभावकारी भूमिका खेलेको’ वरिष्ठ अधिवक्ता काजिगाउँले श्रेष्ठले नयाँविश्वलाई बताउनुभयो ।
राजण्डारीले पञ्चायत कालमा प्रकाशित प्रगतिशील साहित्यीक पत्रिका कालिको छालको सम्पादक भएर नेपाली भाषा तथा वाङ्मयमा लामो योगदान पुर्याएका छन्। उहाँले साहित्यकार चन्द्र शेखर श्रेष्ठद्धारा लिखित खाँ हाल नेवारी नाटकलाई नेपाली भाषामा अनुुवाद गर्नु भएको थियो ।
भाले बास्यो नाटक बागलुङ बजारमा प्रदर्शन गर्न र राम स्वरुप वर्माद्धारा लिखित माक्र्सवादको मुल सिद्धान्त पुस्तकलाई नेपाली भाषामा अनुवाद गरेर माक्र्सवादी विचारको प्रचारप्रसारमा उल्लेख्य भूमिका खेल्नु भएको थियो ।
राजभण्डारी विसं २०३८ सालमा शान्ती सुरक्षा ऐन अन्तर्गत पक्राउ पनि परेका थिए । उहाँ मोहन विक्रम सिंहले नेतृत्व गर्नु भएको नेकपा मसालमा क्रियाशिल हुनु हुन्थ्यो ।
उहाँले बागलुङ नगरपालिका-३ राधाकृष्ण टोलमा ज्योति साहित्य गृह पुस्तक पसल स्थापना गरी धौलागिरि क्षेत्रको शैक्षिक, राजनैतिक र सामाजिक जागरणमा पनि महत्वपूर्ण योगदान दिनु भएको थियो ।
राजभण्डारीलाई विद्यामन्दिर पुस्तकालयले श्रद्धाञ्जली व्यक्त गर्नुको साथै शोकाकुल परिवार जनमा गहिरो समवेदना व्यक्त गरेको छ ।













































































































































































































