१७ कार्तिक २०८३, सोमबार

 

पत्रकार रामकृष्ण बोहरा र डम्मर बुढा पुरस्कृत

बागलुङ । बागलुङका दुई पत्रकार पुरस्कृत हुनुभएको छ ।

ढोरपाटन दैनिकका सहसम्पादक तथा गोरखापत्रकर्मी रामकृष्ण बोहरा र आदर्श सञ्चार सहकारी संस्था लिमिटेट बागलुङद्वारा प्रकाशित धौलागिरि जागरण दैनिक, अग्रसर साप्ताहिक र आदर्श सञ्चार डटकमका संवाददाता डम्मर बुढा मगरसहित बागलुङका दुई क्रियाशिल पत्रकार पुरस्कृत हुनुभएको छ ।

बुढामगर राष्ट्रिय समाचार समिति ९रासस०का स्थानीय समाचारदाता र नेपाल पत्रकार महासंघ बागलुङका सह–सचिव समेत हुनुहुन्छ ।

पत्रकार मित्रलाल खरेल र सिता खरेलद्वारा स्थापित ‘टिका धन खोज पत्रकारिता पुरस्कार–२०८१’ बाट ढोरपाटन दैनिकका सहसम्पादक तथा गोरखापत्रकर्मी पत्रकार रामकृष्ण बोहोरा नगद १० हजार सहित पुरस्कृत हुनुभएको छ ।

विसं २०७७ सालमा पत्रकार मित्र खरेलका आमा धन कलि खरेल र बुबा टिकाराम खरेलको नाममा स्थापित सो पुरस्कार दोस्रो पटक बोहोरालाई प्रदान गरिएको हो । बोहोरा २२ बर्षदेखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । यसअघि एभिन्युज संवाददाता रोजश चन्द्र राजभण्डारीलाई प्रदान गरिएको थियो ।

साथै नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार कोष’बाट नगद पाँच हजार र सम्मान पत्र सहित बुढामगर पुरस्कृति हुनुभएको छ ।

शनिबार लेखनवृद्धि कोष घोषणा समारोहमा गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाबाट बुढामगर र बोहोरालाई पुरस्कार समर्पण गरिएको हो ।

२०८० सालमा स्थापित पुरस्कार कोषबाट पहिलो पटक बुढामगर सम्मानित हुनुभएको छ ।

पत्रकार महासंघ बागलुङका साधारण सदस्य रहनुभएका विकास पौडेल कोरोनाका कारण मृत्युभएपछि उहाँको परिवारले महासंघमै पत्रकारिता पुरस्कार कोष स्थापना गरेका थिए ।

एक दशकदेखि बागलुङको पत्रकारितामा सक्रिय बुढामगर २०७९ सालदेखि राससमा ढोरपाटन संवाददाताको रुपमा कार्यरत हुनुहुन्छ । बुढामगर पत्रकार महासंघ बागलुङका सह–सचिव समेत हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung