भूकम्प आएका बेला भाग्ने क्रममा लडेर कैदी स्याङ्बो तामाङको हात भाँचिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) किरण थापाले जानकारी दिए।
‘अहिलेसम्म कुनै क्षतिको विवरण आएको छैन। एकजना जिल्ला कारागारमा भएका कैदी स्याङ्बो तामाङको हात भाँचिएको छ। उनको जिल्ला अस्पतालमा उपचार भइसकेको छ। उनलाई कारागार नै फर्काइसकिएको छ’ उनले भने ।
कारागार स्रोतका अनुसार भूकम्प आउँदा डराएर हामफाल्दा उनको हात भाँचिएको हो। कैदी तामाङको घर सिन्धुपाल्चोककै भोटेकोसी गाउँपालिका हो।
यस्तै भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-३ तुसारेस्थित दुगुनागढीमा सुक्खा पहिलो खसेको सीडीओ थापाले बताए।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।













































































































































































































