१५ बैशाख २०८२, सोमबार

 

पर्वत र बागलुङ जोड्न बन्यो पक्की पुल

बागलुङ । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोडियो, प्रदेश राजधानी पोखरा जाने बाटो पनि ३० किलोमिटर छोटियो ।

पर्वत र बागलुङलाई सडक सञ्जालबाट जोड्न कालिगण्डकीमा पक्की पुल निर्माण भएको छ । सो पुलले बागलुङको जैमिनी नगरपालिका– १, जैमिनीधामदेखि पर्वतको फलेवास नगरपालिका– ६, देविस्थान जोडेको छ ।

पुलले दुई जिल्ला आवतजावत गर्न सहज भएसँगै गण्डकीको प्रदेश राजधानी पोखरा जाने बाटो पनि ३० किलोमिटर छोटो भएको छ । पुलको काम सकिएर पर्वत खण्डको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ ।

‘पुल निर्माणको काम सकियो । अब, रङरोगन मात्रै बाँकी छ, अस्थायी रूपमा जिप, भ्यान र साना सवारीसाधन आवतजावत गरिरहेका छन् । ठुला सवारीसाधका लागि सडक निर्माणको काम हुँदै छ,’ निर्माण कम्पनीका प्रतिनिधि अनिल श्रेष्ठले भने ।

सय मिटर लामो पुल निर्माण भए पनि बागलुङको दक्षिण जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाका स्थानीयलाई पोखरा जानका लागि सहज भएको छ । सो पुलका कारण दक्षिण बागलुङले निकास पाएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

‘वर्षायाममा कालीगण्डकी करिडोर ठाउँ–ठाँउमा अवरोध हुँदा सदरमुकाम बागलुङ बजार जान पनि दक्षिण बागलुङका जनताले सास्ती खेप्नुपरेको थियो,’ नगर उपप्रमुख शर्माले भने, ‘पुल निर्माण भएपछि सदरमुकामसँगै पोखरा पुग्न पनि सहज भएको छ ।’

पोखरा हुँदै काठमाडौंसम्म जाँदा कालीगण्डकी करिडोरको मालढुंगा पुगेर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको उनले बताए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग जोड्ने मार्गका रूपमा पनि यो पुल कोसेढुंगा बनेको नगर उपप्रमुख शर्माको भनाइ छ ।

तोकिएभन्दा पाँच वर्ष ढिला सम्पन्न
रसुवा कन्स्ट्रक्सन, श्री गीता, फेवा जेबी निर्माण कम्पनीले ०७३ असोजमा सम्झौता गरी निर्माण सुरु गरेको पुल ०७६ असारमा सम्पन्न गर्ने सम्झौता थियो । तर, १३ पटकसम्म म्याद थपेर पाँच वर्ष ढिला गरी पुल निर्माण सम्पन्न भएको छ ।

१४ करोड ४२ लाखमा ठेक्का लागेको पुल निर्माण सकिँदा भने १६ करोड भुक्तानी गरेको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए । पुलको पर्वत खण्डमा सडक जोड्न थप भएकै बजेटबाट काम सकिने उनले बताए । सो खण्डमा करिब ५० मिटर नयाँ सडक बनाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung