१७ कार्तिक २०८३, सोमबार

 

पत्रकारको हत्या र सञ्चार माध्यममाथिको आक्रमणविरुद्ध सडकमा उत्रियो बागलुङका पत्रकार

बागलुङ । शुक्रबार भएको राजावादीहरुको आन्दोलनमा पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममा आक्रमण गरिएको विरोधमा बागलुङका पत्रकारहरु आन्दोलमा उत्रेका छन् ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र पत्रकार सुरेश रजकको हत्यारालाई कार्वाहीको माग गर्दै  आज बिहान नेपाल पत्रकार महासंघ बागलुङले लोकतान्त्रिक चोकमा विरोध सभा आयोजना गरेका छन् ।

पत्रकार रजकले भिडियो खिचिरहेको घरमा राजावादी प्रदर्शनकारीहरूले आगो लगाएपछि उनको त्यही जलेर मृत्यु भएको थियो ।

७०औँ स्थापना दिवसको कार्यक्रम स्थगित गरेर जिल्लाका पत्रकारले लोकतान्त्रिक चोकमा प्रदर्शनमा उत्रिएको हो ।

पत्रकार महासंघ बागलुङ शाखाको कार्यालयबाट विरोधका प्लेकार्ड सहित थालिएको ¥याली बजार परिकर्मा गरेर लोकतान्त्रिक चोकमा विरोधसभा आयोजना गरिएको छ ।

विरोध सभामा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले आन्दोलनको विषयमा पत्रकारहरुलाई जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य हरिनारायण गौतम, प्रेस युनियनका केन्द्रीय महासचिव दिलिप पौडेल, प्रगतिशिल पत्रकार संघका केन्द्रीय सचिव तारा प्रसाद शर्मा लगायतले पत्रकारको क्रुर हत्या र सञ्चार गृहमाथि भएको तोडफोडको घोर भत्सना गरेका थिए ।

विरोधसभा कार्यक्रमको पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजालले सञ्चालन गर्नुभएको थियो ।स्थापना दिवसलाई पत्रकार ‘हत्या’ र सञ्चार गृह तथा संचारकर्मीमाथिको हमला विरुद्ध आन्दोलनका रूपमा शोक र विरोध सभाको रूपमा महासंघले मनाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung