बागलुङ । बागलुङ जिल्लामा सडक मानवमुक्त घोषणा अभियानको लागि मानवसेवा आश्रम र बागलुङका स्थानीय पालिकाहरूबिच सहकार्य हुने भएको छ । बागलुङका पाँच वटा पालिकाहरुले सहयोगापेक्षी सडक मानवमुक्त राष्ट्र नेपाल घोषणा कार्यक्रमको लागि प्रतिबद्धता जनाएका छन्
। पालिका प्रमुखहरूले आश्रममा अध्यक्ष रामजी अधिकारीलगाएतका टिमसँग उक्त प्रतिबद्धताका पत्र जारी गरेका हुन् । बागलुङमा तमानखोला गाउँपालिका एक्यवद्धता तथा प्रतिबद्धता पत्र जारी गर्ने पहिलो पालिका बन्न पुगेको छ ।
यो सँगै आइतबार र सोमबार बडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका, ढोरपाटन नगरपालिका र ताराखोला गाउँपालिकाले पनि प्रतिबद्धता जनाएको मानव सेवा आश्रमकी अभिभावक लक्ष्मी बाँस्कोटाले बताइन्।
साथै बाँकी पालिकाहरुले पनि यस अभियानमा साथ दिने आश्रमले जनाएको छ । मानवसेवा आश्रमले २०८२ लाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घोषणा गर्ने योजना बनाएको छ ।
सोही अनुरूप मुलुकभर घोषणा हुन बाँकी रहेका पालिका र प्रदेशहरूसँग आश्रमले सहकार्य गर्दै मिसन २०८२ सफल पार्न आश्रमले तीव्र रूपमा अभियान सञ्चालन गरिरहेको मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले बताउनुभयो ।























































































































































































































