बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको नवनिर्मित भवनमा एउटा कोठा निर्माणको लागि काठमाडौं महानगरपालिका-१४ निवासी नर्मदा श्रेष्ठ र शिला श्रेष्ठले आर्थिक सहयोग गरेकी छिन् ।
बागलुङ नगरपालिका-४ निरयघाटमा निर्माण भएको भवनमा एउटा कोठा निर्माणको लागि नर्मदा श्रेष्ठ र शिला श्रेष्ठले आमा नन्द कुमारी श्रेष्ठको स्मृतिमा पाँच लाख एघार हाजर एक सय एघार रुपैयाँ उपलब्ध गराएकी हुन् ।
समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठ र अनुप कुमार श्रेष्ठले उक्त रकम बरावरको चेक मानव सेवा आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठलाई बुधबार हस्तान्तरण गर्नु भएको हो ।
कार्यक्रममा जेष्ठ नागरिक जिल्ला संघ बागलुङका अध्यक्ष चिरिन्जिवि श्रेष्ठ, समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठ, सत्य साई केन्द्र बागलुङका अध्यक्ष विजय श्याम राजभण्डारी, आश्रमका अभिभावक निर्मलबहादुर श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम मानव सेवा आश्रमकी सञ्चालिका विपना तामाङले सञ्चालन गरेकी थिइन् । सहायोगापेक्षी मानवहरुलाई आश्रय दिँदै आएको बागलुङको आश्रममा हाल ६३ जनाले आश्रय लिएर बसेका छन् । सडक मानवको पनि उद्धार गर्दै आएको आश्रमलाई सबैले आर्थिक भौतिक सहयोग गर्दै आएका छन् ।


















































































































































































