३ श्रावण २०८३, आईतवार

 

दोस्रो संस्करणको एसईई स्तरीय आदर्श फुटबल कप जेठ १५ गतेदेखि हुने

बागलुङ । दोस्रो संस्करणको एसईई स्तरीय आदर्श कप प्रतियोगिताको ट्रफी सार्वजनिक गरिएको छ । आदर्श विद्यामन्दिर खेलकुद क्लबले बुधबार पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो ।

आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसी, जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी, नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियार, बागलुङ स्पोर्टस क्लबका प्रकाश शर्माले उक्त ट्रफी सार्वजनिक गर्नु भएको हो ।

ट्रफी अनावरण कार्यक्रममा बोल्दै प्रतियोगिताका सहआयोजक समेत रहेको आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल भुपेन्द्र केसीले विद्यालयका विद्यार्थीको प्रतिभा पहिचान गर्न र खेलकुदको विकासको लागि प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारी र नेपाल पत्रकार महासंघ बागलुङ शाखाका सहसचिव नवराज परियारले फुटबल विकासमा निजी विद्यालय र क्लबहरुले महत्वपूर्ण योगदान पु-याएको चर्चा गर्नुभयो ।

प्रतियोगितामा छात्र तर्फ बागलुङ जिल्लाका १४ विद्यालयका १६ टिम र छात्रा तर्फ ७ विद्यालयले सहभागिता जनाउने आयोजक आदर्श विद्यामन्दिर स्पोर्टस् क्लबका अध्यक्ष राजेश केसीले जानकारी दिनुभयो ।

बिहिबारदेखि जेठ २१ गतेसम्म संचालन हुने प्रतियोगिताका सम्पूर्ण खेलहरु बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद ७५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेताले ३७ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

यस्तै महिलातर्फको विजेता टोलीले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका अध्यक्ष केसीले बतानुभयो ।

यस्तै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडि, मिडफिल्डर, उच्च गोलकर्ता, गोलरक्षक, र उत्कृष्ट फरवार्डसँगै अनुशासित टोलीलाई नगदसहित पुरस्कृत गरिनेछ । प्रतियोगिता सञ्चालनको लागि सात लाख रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

क्लबका अध्यक्ष राजेश केसीको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा शिषक युनिस मियाँले स्वागत र शिक्षक कमल रेग्मीले संचालन गर्नुभएको थियो ।

प्रथम आदर्श कप छात्र फुटबल प्रतियोगिताको उपाधि आयोजक आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung