बागलुङ । जलजला गाउँपालिकाले १९औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाएको छ । जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा बुधबार गाउँपालिकाले क्षमता विकास, सचेनतमूलक अन्तर्क्रिया तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशीले दलित आन्दोलनमा योगदान गर्नु भएका पूर्व उपप्रधानपंच रामबहादुर विश्वकर्मा र पूर्व गाविस उपाध्यक्ष दिलबहादुर परियारलाई सम्मान गर्नु भएको जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले जानकारी दिनु भयो ।
क्षमता विकास, सचेनतमूलक अन्तर्क्रिया कार्यक्रममा जिल्ला प्रशासन कार्यालय पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, पर्वत दलित मुक्ति मोर्चाका केन्द्री सचिवालय सदस्य लालु किसान, नेपाल उत्पीडित जातीय मुक्ति समाजका कार्यवाहक अध्यक्ष निर्मल नेपालीले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रम जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यको अध्यक्षता, उपाध्यक्ष दिपक आचार्यको स्वागत तथा कार्यपालिका सदस्य भिमसेन बहादुर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

































































































































































































