बागलुङ । २०७४ साल अघि बागलुङमा भजन समूह गठन थिएनन् । गाउँमा परम्परागत तरिकाले पुँजा आजामा मात्रै सिमित भजनहरुमा पुस्तान्तरणको अभाव थियो ।लोक भजन चुट्का लोप हुँन थालेपछि बागलुङमा भजन संरक्षणमा नयाँ पुस्ताले चासो देखाएको मात्रै छैन राष्ट्रिय रुपमा बागलुङको भजन चिनाउन सफल भएको छ ।
भजन प्रतियोगिता गर्ने, पुस्तान्तरण गर्न तालिम प्रदान गर्ने तथा धार्मिक संस्थामा भजन समिति गठन गर्ने कार्यले भजन संरक्षणमा टेवा पु¥याएको छ ।२०७४ सालबाट गठन थालिएको भजन समिति अहिले जिल्लाभर ४७ वटा पुगेको बागलुङ जिल्ला स्तरीय लोक भजन चुट्का समितिले जनाएको छ ।
२०७४ सालमा भजनको संरक्षणका लागि जैमिनी भजन संकृतन समूह स्थापना भएको थियो । २०७८ सालमा जिल्ला भजन समित गठन भएपछि भजनको गतिविधि बढेको थियो । जिल्लामा ४७ वटा भजन समूह स्थापना भएर सक्रिय भइसकेको जिल्ला भजन समिति बागलुङका अध्यक्ष टेक बहादुर केसीले जानकारी दिनुभयो ।
जिल्ला स्तरीय भजन समिति गठन भएपछि धार्मिक प्रतिष्ठान तथा मठ मन्दिर अनुसारको समूह गठन गर्ने, आपसी सहयोग बढाउने, बाध्यवादनका सामाग्री खरिद गर्ने, अनुभव आदान–प्रदान गर्ने र व्यावसायिक रुपमा भजन गाउँने कामको थालनी गरिएको केसीको भनाई छ ।
पछिल्लो समय लोप हुँने खतराबढेपछि लोक भजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमीहरु संगठित भएर लागेका हुन् । लोक भजन चुट्का संरक्षणका लागि यहाँका भजनप्रेमिहरुले संगठन बिस्तार देखि भजन प्रशिक्षण गर्दै पुस्तान्तरणको प्रयास थालेका छन् ।
“भजनको धेरै विधा र ताल छन्, अहिले औपचारिक मेला महोत्सवमा समेत भजन कृतन गर्ने र भजनकै लयमा नाटक देखाउने गरिएको छ” केसीले भन्नुभयो “सनातन हिन्दु धर्म, पूर्विय दर्शनमा आधारित संस्कार र संकृतिको रुपमा रहेको लोक भजन संरक्षणका लागि यहाँका भजन प्रेमीहरुले सहयोग गरिरहेका छन्, अहिले बाध्यवादनका सामाग्री सेमत सहयोगबाटै जुटाइएको छ, भजनलाई संस्थागत गरेपछि पुस्तान्तरणमा सहयोग पुग्नेछ ।”
२०७६ सालमा कालिका भगवती गुठीले लोकभजनको संरक्षण तथा पुस्तान्तरणका लागि १५ दिने भजन प्रशिक्षण गरेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । त्यसयता स्थानीय तहले समेत मादल बजाउने जस्ता तालिमहरु प्रदान गरिरहेको छ । उहाँले कालिका मन्दिर भजन समूहले बिहान भजन तथा बेलुका आरती भजन नियमित रुपमा गाउँदै आएको छ भने अन्यत्रको पुजा आजामा भजन गाउँनाका लागि समुहलाई समेत खटाउदै आएको खड्काले जानकारी दिनुभयो ।
विभिन्न मठ मन्दिर, चौरासी पूजा र ब्रतबन्धमा भजन गाउँन भजन समूहनै सक्रिय रुपमा लाग्ने गरेको छ । भजन संरक्षण, प्रशिक्षण तथा पर्बद्धनका लागि सहयोग पुग्न थालेको छ । क्षत्रीका अनुसार युवा पुस्तालाई भजन सिकाउदा उनिहरु पलायन भएका कारण विद्यालयका शिक्षकहरलाई लोक भजन र बाध्यवादन प्रशिक्षण कार्यक्रम थालिएको छ ।
धार्मिक पर्यटकलाई समेत लोक भजन चुट्काप्रति पछिल्लो समय आकर्षण बढिरहेको छ । प्रतिष्ठानको अगुवाईमा रु पाँच लाख बराबरको ध्वनी यन्त्र र बाध्यवाधनका सामाग्री संकलन गरिएको अगुवा भजनकर्ता दुर्गा बहादुर आचार्यले जानकारी दिनुभयो ।













































































































































































































