बागलुङ । बागलुङ शाक्य खलः काठमाडौं नेपालको आयोजनामा दोस्रो अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ । जेष्ठ नागरिकसँग भलाकुसारी नयाँ पिढीलाई खुराकी कार्यक्रम अन्तर्गत बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्व अध्यक्ष तथा बागलुङ शाक्य खलः काठमाडौंका प्रधान संरक्षक श्रवणलाल शाक्यले नयाँ पुस्तालाई आफनो जिवनको अनुभव र अनुभुती साझा गर्नु भएको थियो ।
समाजमा विद्यमान अन्धुविश्वासलाई सिधै विश्वास नगरी आफूले उक्त विषयमा अध्ययन, प्रयोग र अभ्यासबाट मात्र निर्णयमा पुग्न शाक्यले आग्रह गर्नु भयो । समाज परिवर्तनशिल हुने भएकोले समयसँगै आफूलाई रुपान्तरण गरेर प्राप्त अवसरलाई उपयोग गर्न सके सबैको प्रगति हुने उहाँको भनाई थियो ।
कार्यक्रममा धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशन र बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा स्वंय प्रकाश श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रमका संयोजक सुनिल सन शाक्यले प्रधान संरक्षक शाक्यको बारेमा जानकारी दिनु भएको थियो ।
कार्यक्रममा बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष बालकुमार शाक्यले समाजमा महत्वपूर्ण योगदान दिनु भएका असल जेष्ठ नागरिकको जिवन संघर्षका भोगाई र अभ्यास नयाँ पुस्ता र समाजका सबै वर्ग, समुदायलाई प्रेरणादायी हुने बताउनुभयो ।
कार्यक्रम बागलुङ शाक्य खलः काठमाडौंका अध्यक्ष बालकुमार शाक्यको अध्यक्षता, उपाध्यक्ष कविन्द्र मान शाक्यको स्वागत र सचिव मनोज शाक्यको सञ्चालनमा सम्पन्न भएको थियो ।बागलुङ शाक्य खलः काठमाडौं सदस्यहरुको हकहितमा केन्द्रीत हुनुका साथै सामाजिक, शैक्षिक, जनस्वास्थ्य र मानविय सेवामा केन्द्रीत छ ।






















































































































































































































