१९ जेष्ठ २०८३, मंगलवार

 

नयाँ विश्वका कार्यकारी सम्पादक आचार्य हरिलक्ष्मी नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कारबाट पुरस्कृत

बागलुङ । नयाँ विश्वका कार्यकारी सम्पादक सुवास आचार्य पुरस्कृत हुनुभएको छ । नेपाल पत्रकार महासंघ बागलुङ शाखाको रजत जयन्तीको अवसरमा हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट आचार्य पुरस्कृत हुनुभएको हो ।

निरन्तर पत्रकारिता कर्मद्धारा समाजमा योगदान पुर्याएको भनि आचार्यसहित किरण आचार्य, कोपिला कँडेल, दिल शिरिष पुरस्कृत गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापाले बताउनुभयो ।आचार्य विगत १७ वर्षदेखि पत्रकारितामा क्रियाशिल हुनु हुन्छ ।

नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा र हरिलक्ष्मी नारायणप्रसाद श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कार कोषका प्रधान संरक्षक तीर्थ प्रसाद श्रेष्ठ, संरक्षक मनोविज्ञान श्रेष्ठ र शाखाका अध्यक्ष राम थापा अविरलले पत्रकारलाई नगद रु २० हजार सहित दोसल्ला र सम्मानपत्रले पुरस्कृत गर्नु भएको हो ।

हरिलक्ष्मी–नारायण प्रसाद स्मृति पत्रकारिता पुरस्कार –२०७९ बाट किरण आचार्य, २०८० बाट कोपिला कँडेल, २०८१ बाट दिलि शिरिष र २०८२ बाट सुवास आचार्य पुरस्कृत हुनु भएको हो । नेपाल पत्रकार महासंघ बागलुङ शाखाका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारीको संयोजकत्वमा रहेको तीन सदस्यीय पुरस्कार छनोट समितिले चार जना पत्रकारको नाम सिफारिस गरे अनुसार पुरस्कृति गरिएको हो ।

समाजसेवी तीर्थ प्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, बलराम श्रेष्ठ, श्याम प्रसाद श्रेष्ठ, मनोविज्ञान श्रेष्ठ, श्रीजय श्रेष्ठ र श्रेष्ठ परिवारले हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठको स्मृति सात लाखको अक्षय कोष विसं २०७३ मा नेपाल पत्रकार महासंघ बागलुङमा स्थापना गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल शर्मा, हरिलक्ष्मी नारायण प्रसाद श्रेष्ठ स्मृति कोषका प्रधान संरक्षक तिर्थ प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति बागलुङका प्रमुख अमरबहादुर थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल, गण्डकी प्रदेश महासचिव तथा न्युनतम पारिश्रमिक निर्धारण समितिकी सदस्य जमुना वर्षा शर्मा, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष राजेशचन्द्र राजभण्डारी, जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, नेपाल पत्रकार महासंघ पर्वत शाखाका अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्ती मगर, नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष दिल शिरिषले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, सचिव नारायण रिजालको संचालन र उपाध्यक्ष सिर्जना पन्तको स्वागतमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung