बागलुङ । नेपाल भाषा मंका: खल:बागलुङको आयोजनामा बागलुङमा गठेमंगल नाम गरेको राक्षसको पुत्ला दहन गरेर घण्टाकर्ण पर्व मनाइएको छ । बुधबार नेवा ल्याम्ह पुच बागलुङ, शाक्य कल्याण समाज बागलुङ र लोकतान्त्रिक चोक टोल विकास समितिले गठेमंगल राक्षसको पुत्ला बनाएर बागलुङ बजारको मुख्य मुख्य चोक र टोलहरु परिक्रममा गरि छहारा पधेरा खोल्सामा लगेर पुत्ला दहन गरिएको थियो ।
यो पर्व साउन कृष्ण चतुर्दशीका दिन देशै भरि मनाइन्छ । बागलुङमा काठमाडौं उपत्यकाबाट तीन चार सय वर्ष पहिले आएका नेवार समुदायले पर्व मनाउदै आएका छन् ।
पछिल्लो वर्षहरुमा बागलुङ बजारका मेला, पर्व, जात्रा र संस्कृति लोप हुन थालेपछि नेपाल भाषा मंका खलको नेतृत्वमा नेवा युवाहरुले संगठित भएर यो पर्वलगाएत विभिन्न नेवारी पर्व, जात्रा र संस्कृति संरक्षण गर्नुको साथै नयाँ पुस्तालाई संस्कृति हस्तान्तरण गर्दै आएको नेपाल भाषा मंका खल बागलुङका अध्यक्ष जयराम भारीले नयाँ विश्वलाई बताउनु भयो ।गठेमंगल राक्षसको शरिरमा आगो लगाएर मारेपछि भूतप्रेतले पिछा छोड्ने जनविश्वास रहेको छ ।
गोपाल वंश, लिच्छवि वंश हुँदै यो पर्व मनाइँदै आएको हो । नेवार समुदायहरुले गठेमंगल राक्षस मारिएको खुसियालीमा हरियो नर्कट, निगालो, गहुँको छ्वाली मिसाएर घण्टाकर्णको स्वरुप बनाइ दोबाटो र चौबाटोमा उभ्याउने चलन पनि छ । बागलुङमा उपत्यकाबाट आएका नेवार समुदायले आफूसँग आउँदा जात्रा, पर्व र संस्कृतिसँगै लिएर आएका थिए ।
यो पर्वलाई अहिले नेवार युवाहरुको विशेष पहल र नेतृत्वमा संरक्षण गर्दै मनाइने गरिएको छ । घण्टाकर्णको पुत्ला बनाएका संस्थाहरु नेवा ल्याम्ह पुच बागलुङका उपाध्यक्ष सुसन मलेपती, शाक्य कल्याण समाज बागलुङका उपाध्यक्ष निरज शाक्य अध्यक्ष बाबुलाल शाक्य र लोकतान्त्रिक टोल विकास समितिका सचिव सुन्दर श्रेष्ठलाई शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन मलेपती, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य युवराज राजभण्डारी, शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्यले नगद पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रम नेपाल भाषा मंका: खल:बागलुङका अध्यक्ष जयराम भारीको धन्यवाद र सचिव सुदिप राजभण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।



घण्टाकर्ण पर्वको महत्व
श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने गठेमंगल अर्थात् घण्टाकर्ण पर्व आज राजधानीको भित्री सहरमा मनाइएको छ।शुक्रबार चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमंगल अर्थात घण्टाकर्ण पर्व सांस्कृतिक परम्पराअनुसार विशेषगरी राजधानीको भित्री भागका नेवार समुदायले मनाउने गर्छन्।
परापूर्वकालदेखि मनाउँदै आएको यस पर्वमा गठेमंगल नाम गरेको नरभक्षी राक्षस मारिएको सम्झना स्वरूप बिहानै हरियो नर्कट, निगालो अथवा गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षसको स्वरूप बनाई दोबाटो र चौबाटोमा उभ्याइने प्रचलन छ।छ्वालीबाट बनाई दोबाटो र चौबाटोमा दिनभर राखिने गठेमंगल बेलुकी भने खेतको बीचमा लगेर बाल्दा धानमा कीरा नलाग्ने विश्वास छ।
यस्तै, स्थान एवं कुल परम्पराअनुसार कतै भने गठेमंगललाई खोला वा नदी किनारमा लगेर जलाइन्छ।यसैगरी बिहानै स्नान, पूजापाठ गरी घर–आँगन सफा गरी केटाकेटीले बाटामा डोरी टाँगेर पैसा ९जगात्० माग्ने र राति राँको बाली उक्त राक्षसको प्रतीक घिसार्दै जलाउने चलन छ।
त्यस्तै, गठेमंगललाई सत्व, रज र तम गुण मानेर भैरवका प्रतीकका रूपमा लिइने र नवविवाहित स्त्री–पुरुषले दर्शन गर्नुपर्ने चलन छ। यस्तो परम्परा अहिले पनि राजधानीको तीनै सहर काठमाडौं, ललितपुर र भक्तपुरका भित्री भागमा छ।
यसो गर्नाले नवविवाहित जोडीको जीवनमा बाध्य बाधा, आन्तरिक बाधा एवं शत्रुबाट रक्षा प्राप्त हुने जनविश्वास छ। आर्थिक एवं भौतिक उन्नतिका लागि पनि घण्टाकर्णको पूजा आराधनालाई राजधानीको भित्री भागमा बस्नेले महत्वपूर्ण पर्वका रूपमा मान्दै आएका छन् ।
पौराणिक कथनअनुसार दुवै कानमा घण्ट झुण्ड्याई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई मार्न एक जना तान्त्रिकले भ्यागुताको रुप लिएर धाप भएतिर बाटो देखाइदिँदा राक्षस धापमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरुप घण्टाकर्णको प्रतीकका रुपमा नर्कटको प्रतिमा बनाइन्छ।
मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रुपमा विभिन्न रंगले रङ्गाएर पनि राख्ने चलन छ। बेलुकी घण्टाकर्णको पुत्ला घिसार्दै नजिकैको खोलामा लगेर जलाउने गरिन्छ।घण्टाकर्णलाई सेलाएपछि घरका दैलामा फलामको तीनखुट्टे वा पाँचखुट्टे किला ठोकी फलाम, पित्तल वा तामाका औंठी लगाउने चलन छ।
सेतोपाटीबाट













































































































































































































