गलकोट । सामुदायिक रेडियो गलकोट १०२.४ मेगाहर्जको १५औँ वार्षिकोत्सव आज शुभकामना आदान प्रदान गरी मनाईएको छ ।समृद्ध गलकोटको लागि सामुदायिक रेडियो गलकोट भन्ने नाराका स्थापित यस रेडियो प्रसारण शुभारम्भको आज १४औँ वर्ष पुरा गरी १५औँ वर्षमा प्रवेश गरेको हो ।
कार्यक्रममा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक गुमानसिंह बुढाथोकीले रेडियोले सत्य, तथ्य र सन्तुलित समाचार, सूचना सम्प्रेषण गर्दै नागरिकको सूचना पाउने अधिकारलाई वञ्चित गर्न नहुने बताउनुभएको छ ।
उहाँले ग्रामीण क्षेत्रबाट सञ्चालित सामुदायिक रेडियो गलकोटले ग्रामीण क्षेत्रका जनजिविकाका कथा व्यथा सँगै कला, संस्कृति, पर्यटन प्रवद्र्धन र समाजमा सुशासन निर्माण गर्न खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको अवसरमा सामुदायिक रेडियो गलकोटका स्टेशन म्यानेजर सरिता खत्री र बजार प्रतिनिधि कृतिका मल्ललाई विदाई गरिएको थियो । विगत १२ वर्षदेखि कार्यक्रम प्रस्तोता, कार्यक्रम संयोजक हुँदै स्टेशन म्यानेजरमा कार्यरत रहनुभएका खत्री र विगत २ वर्षदेखि बजार प्रतिनिधिको रुपमा कार्यरत मल्ललाई उहाँहरुको कामको उच्च प्रशंसा गर्दै आज सम्मान पत्र र मायाको चिनोसहित बिदाई गरिएको हो ।
कार्यक्रम सामुदायिक रेडियो गलकोटका अध्यक्ष वीरेन्द्र श्रेष्ठको अध्यक्षता, कोषाध्यक्ष ढालिन्द्र प्रसाद गौतमको स्वागत र सचिव वीरबहादुर चोखालको सञ्चालनमा सम्पन्न भएको थियो ।सूचना र संचारका माध्यमबाट समृद्ध गलकोट बनाउने उद्देश्यले विसं २०६६ मा गलकोट सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेड स्थापना भयो ।
जसले विसं २०६७ फागुन २ देखि ‘स्थानीय सञ्चार समुदायका लागि शक्ति र अवसर’ भन्ने मान्यताका साथ मुद्रण पत्रकारिताको रुपमा गलकोटपत्र साप्ताहिक प्रकाशन गर्दै आइरहेको छ ।
विद्युतिय सञ्चार माध्यमका रुपमा विसं २०६८ साउन १४ देखि प्रसारण हुदै आएको १०० वाट क्षमताको सामुदायिक रेडियो गलकोट एफएम १०२.४ मेगाहर्ज गलकोट र यसका आसपासका क्षेत्रलाई सुसुचित गर्ने सशक्त सञ्चार माध्यमका रुपमा स्थापित भएकोे हो ।
बदलिदो परिवेश र सेवा विस्तारका लागि विसं २०७४–१२–१५ देखि क्षमता विस्तार गरि ५०० वाटको प्रसारण क्षमता रहेको छ । रेडियोलाई ताराखोला गाउँपालिकामा विस्तार गर्नका लागि ताराखोला गाउँपालिका वडा नं २ अर्गलको बहुउद्देश्यीय भवनमा विसं २०७८ बैशाख ११ गते रिले टावर स्थापना गरी सेवा प्रवाह गर्दै आईरहेको छ ।








































































































































































































