२१ भाद्र २०८३, आईतवार

 

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले मनायो ४४औँ स्थापना दिवस

बागलुङ । बागलुङ समाज कल्याण केन्द्र काठमाडौंले आफनो ४४औँ  स्थापना दिवस तथा ४३औँ वार्षिकोत्सव शुक्रबार समाजको सभा कक्षमा मनाएको छ । ४४औँ स्थापना दिवसको उद्घाटन बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्ष श्रवण लाल शाक्यले गर्नु भएको थियो ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको लोगो बनाएकोमा कलाकार प्रदिप कुमार राजभण्डारीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रा. डा. राम मनोहर श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो । श्रेष्ठका उर्जा अर्थशास्त्र, वातावरण र जलवायु संम्बन्धमा धेरै पुस्तक प्रकाशित छन् भने दुई सय वटाभन्दा बढि शोधपत्रहरु अन्तर्राष्ट्रिय जर्नलहरुमा प्रकाशित छन् ।

कलाकार प्रदिप कुमार राजभण्डारीले बनाउनु भएको प्रा. डा. राम मनोहर श्रेष्ठको  चित्र हस्तान्तरण गर्नु भएको थियो । साथै एसईईमा उत्कृष्ठ अंक ल्याउने समाजका सदस्यका छोराछोरीहरुलाई नगद पाँच हजारसहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो । त्यस्तै अन्यलाई प्रमाणपत्र र मायाको चिनोले पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा कालिका भगवती मिनि पुस्तकालय र बाङगेचौर आन्तरिक खेलको शुभारम्भ गरिएको थियो । समाजले सञ्चालन गरेको पुस्तकालयमा शिक्षासेवी र पुस्तकालय प्रेमीले पुस्तक उपहार पनि दिन मिल्ने व्यवस्था समाजले गरेको छ ।

कार्यक्रममा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका पूर्वअध्यक्षहरु सुमन शाक्य, विरात कुमार श्रेष्ठ, रसुमिला श्रेष्ठ र बागलुङ समाज कल्याण केन्द्र काठमाडौं महिला समूहकी अध्यक्ष सोनी श्रेष्ठको उपस्थिति रहेको थियो ।

कार्यक्रम बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष डा. स्वंय प्रकाश श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष किस्मत मणि श्रेष्ठको स्वागत तथा शुभकामना र सचिव दिपक प्रधानको सञ्चालनमा सम्पन्न भएको थियो ।

बागलुङ जन्मघर भइ काठमाडौंमा बसोबास, जागिर तथा व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि भनेर डा. रामकुमार श्रेष्ठ अध्यक्षतामा विसं २०३९ सालमा समाजको स्थापना गरिएको थियो ।संस्थाले सदस्यको नेतृत्व विकासका साथै शैक्षिक, सामाजिक, सांस्कृतिक, धार्मिक, मानविय एवम् जनस्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung