३ श्रावण २०८३, आईतवार

 

‘ईश्वरका फूलहरू’ कवितासंग्रह लोकार्पण : नेपाली साहित्यमा नयाँ स्वाद र सोचको थप योगदान

बागलुङ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको आयोजनामा कवि तथा अनेसास केन्द्रीय महासचिव राजु सिटौलाद्वारा लिखित कवितासंग्रह ‘ईश्वरका फूलहरू’ को लोकार्पण कार्यक्रम शुक्रबार काठमाडौँको अनामनगरमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराज लम्सालले ‘ईश्वरका फूलहरू’ नेपाली कविताको गाम्भीर्यमा एउटा ताजा भाव र संवेदनाको स्पर्श भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “सिटौलाको कविताले विचार र अनुभूतिलाई गहिरो ढंगले उधिनेको छ, जसले नेपाली कविता साहित्यलाई अझ समृद्ध बनाउनेछ।”

विशिष्ठ अतिथिका रूपमा उपस्थित प्राध्यापक डा. खगेन्द्र लुइँटेलले संग्रहमा प्रयोग भएका प्रतीक र शिल्पको प्रशंसा गर्दै यसले पाठकलाई चिन्तनशील बनाउने बताउनुभयो।

अर्का विशिष्ठ अतिथि प्रा.डा. कृष्णहरि बरालले सिटौलाको कवितामा भाषा र भावको सशक्त संयोजन रहेको उल्लेख गर्दै भने, “सिटौलाका कविता अन्तरात्माको स्पर्श हुन्, जसले पाठकमा गहिरो प्रभाव छोड्छ।”

कार्यक्रममा साहित्यकार र अनेसासका पूर्व अध्यक्ष राधेश्याम लेकालीले संग्रहको समीक्षात्मक टिप्पणी गर्दै यस कृतिमा समर्पण, अध्यात्म र सामाजिक यथार्थको सूक्ष्म चित्रण भएको उल्लेख गर्नुभयो।

साहित्यकार लीला लुइँटेल, सुमन वर्षालगायत अन्य लेखक तथा स्रष्टाहरूको उपस्थिति रहेको कार्यक्रममा नेपाल च्याप्टरकी महासचिव रन्जना निरौलाले सञ्चालन गर्नुभएको थियो।

नुवाकोटमा जन्मिएका राजु सिटौला हाल अमेरिकामा रहेर लामो समयदेखि नेपाली भाषा, साहित्य र अनेसासको अभियानमा क्रियाशील छन्।

ईश्वर बल्लभको ‘आगोका फूलहरू’ जस्तै गहिरो शीर्षकबाट अब सिटौलाले ‘ईश्वरका फूलहरू’ मार्फत नेपाली कवितामा नयाँ स्वाद थप्नुभएको हो

कार्यक्रम अनेसास नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung