बागलुङ । मोती जयन्तीका अवसरमा तीन जना साहित्यकार सम्मानित हुनुभएको छ । १ सय ६०औँ मोती जयन्तीका अवसरमा धौलागिरि साहित्य प्रतिष्ठान, सार्थक प्रकाशन, धवल कला मन्दिर, स्मृति प्रकाशन र विद्यामन्दिर पुस्तकालयको संयुक्त आयोजनामा साहित्य गोष्ठी तथा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।
धवल कला मन्दिरले प्रदान गर्दै आएको यस वर्षको धवल कला सम्मानबाट बागलुङ बजार निवासी कलाकार सुमन जङ्ग राजभण्डारी र शिव शाक्यलाई प्रदान गरिएको छ ।
साथै स्मृति प्रकाशनले प्रदान गर्दै आएको यस वर्षको स्मृति युवा सम्मान बागलुङ नगरपालिका–३ निवासी साहित्यकार चन्द्रबहादुर क्षेत्रीलाई प्रदान गरिएको छ । सम्मानित व्यक्तित्वहरुको परिचय धवल कला मन्दिरको सचिव कमल सुवेदीले गर्नु भएको थियो ।
सम्मानित कलाकार र साहित्यकारलाई प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
कार्यक्रम धौलागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष काजि रोशनको अध्यक्षता, सार्थक प्रकाशनका अध्यक्ष युक्त प्रसाद सुवेदीको स्वागत र स्मृति प्रकाशनका अध्यक्ष गुणराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































