बागलुङ । बागलुङमा जारी ‘अन्तर्राष्ट्रिय बागलुङ समाज कप’ पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको क्वाटर फाइनल चरण पुरा भएको छ । आज भएको खेलमा बरेङ गाउँपालिकालाई पराजित गर्दै ढोरपाटन नगरपालिकाले सेमिफाइनल यात्रा तय गरेको हो ।
जैमिनी नगरपालिकासँगको खेलमा जित निकाल्दै निसीखोला सेमिफाइनल पुग्यो । ताराखोला गाउँपालिकालाई गलकोट नगरपालिकाले पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाविरुद्ध जित हासिल गर्दै काठेखोला गाउँपालिका सेमिफाइनमा पुगेको हो ।
शनिबार हुने पहिलो सेमिफाइनल खेल ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाबीच हुनेछ । गलकोट नगरपालिका र काठेखोला गाउँपालिका दोस्रो सेमिफाइनलमा आमनसामने हुनेछन् । सेमिफाइनल खेल शनिबार बिहान ७ बजेदेखि सुरु हुने छ ।
व्यवस्थापक जिल्ला भलिबल सङ्घका उपाध्यक्ष किशोर थापाका अनुसार फाइनल खेल दिउँसो २ बजेपछि सुरु हुनेछ ।गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा जिल्लाका दसवटै पालिकाका भलिबल टिमको सहभागिता छ ।
अन्तर्राष्ट्रिय बागलुङ समाजद्वारा आयोजित यस प्रतियोगिताको विजेता टिमले ट्रफी र मेडलसहित रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो स्थान हासिल गर्ने टिमले रु ५० हजार र सान्त्वना हुने टिमले रु २५ हजार पुरस्कार पाउनेछ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु दस हजार, उत्कृष्ट टिम प्रशिक्षकलाई रु पाँच हजार र अन्य विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई रु पाँच हजार प्रदान गरिने समाजका सचिव एवं प्रतियोगिताका संयोजक राजु थापाले बताउनुभयो ।













































































































































































































