३ श्रावण २०८३, आईतवार

 

भव्यताका साथ बागलुङमा मनाइयो नेपाल संम्वत् ११४६

बागलुङ । नयाँ वर्ष न्हू दँ नेपाल संम्वत् ११४६  बागलुङमा मनाइएको छ । न्हू दँ मूल आयोजक समिति बागलुङको आयोजनामा नयाँ वर्ष ११४६ भव्य रुपमा मनाइएको हो ।

कार्यक्रममा नेवार जातीको भाषा, कला र संस्कृति राष्ट्रको साझा सम्पत्ती हो, शंखधर साख्वाले चलाएको नेपालीहरूको मौलिक संम्वत् नेपाल संम्वत् अहिलेसम्म पनि पुरै नेपालीको संम्वत् हुन नसकेको हुँदा यसलाई सबै नेपालीको साझा संम्वत् बनाउनको लागि थप अभियान चलाउनु जरुरी रहेको कार्यक्रमका प्रमुख अथिति बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताउनु भयो ।

नेवा भाषा, जात्रा, संगीत, गीत, कला, संस्कार, संस्कृति र सभ्यताको संरक्षण र जर्गेना गर्नको लागि सबै नेवार समुदायले आर्थिक, भौतिक सहयोग गर्नुको साथै सबैको सक्रिय सहभागिता चाहिने र नेवारहरुको एकता भए मात्र नेवार समुदायको विकास र उनीहरुको संस्कृतिले प्रगति गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष काजि गाउँले श्रेष्ठले नेपाल संम्वत्को बारेमा जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष राजन कुमार शाक्य, शंखधर बहुमुखी सहकारी संस्थाका अध्यक्ष रतन प्रसाद मलेपती, शाक्य कल्याण समाज बागलुङका अध्यक्ष बाबुलाल शाक्य, नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, नेपाल भाषा मंकाःखल बागलुङका पूर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारीले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेवारी गीतमा नृत्य प्रस्तुत गरेका कलाकारहरुलाई कार्यक्रमका प्रमुख अथिति बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठ नगद पुरस्कार प्रदान गर्नु भएको थियो ।

कार्यक्रम न्हू दँ मूल आयोजक समितिका संयोजक जयराम भारीको अध्यक्षता, नेवा मिसा दबुका अध्यक्ष सोमना शाक्यको धन्यवाद र न्हू दँ मूल आयोजक समितिका सचिव सुदिप राजभण्डारीको संचालनमा सम्पन्न भएको थियो ।

नेपाल संवत्‌को सुरुवात

नेपाल संवत् लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव संवत्’लाई विस्थापित गरी लिच्छवीकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएको संवत् हो । ‘तत्कालिन व्यापारी शंकधर साख्वाले आफ्नो नीजि सम्पत्तिबाट प्रजाहरुको ऋण तिरिदिएको र उनीहरुलाई ऋण मुक्त गरेपछि नेपाल सम्वत्को सुरुवात गरेको’ अधिकांश इतिहासविद्हरुको निस्कर्ष छ ।

यद्यपी, जन–उपकारको लागि यत्रो धन उनले कताबाट ल्याए भन्ने कुरामा यथेष्ट प्रमाण भेटिंदैन । लोककथनले कान्तिपुरका व्यापारी ‘शंखधर शाख्वा’ले लखु तीर्थबाट ल्याएको बालुवा सुनमा परिणत भएपछि राजा राघदेवको अनुमतिमा राज्यका सम्पूर्ण ऋणिहरुको ऋण चुक्ता गरेर दासमुक्त गरेको खुशियालीमा राजा राघदेवकै पहलमा यो संवत् स्थापना र सुरुवात गरिएको विश्वास गर्छ ।

यो घटना नेपालको इतिहासमा यथेष्ट ऐतिहासिक प्रमाणको अभाव भएको नेपालको इतिहासकै ‘अध्यारो युग’ मानिने बखतमा घटेको हुँदा यसबारे स्पष्ट प्रमाण भेटिएको छैन, यद्यपी हामी सजिलै अनुमान गर्न सक्छौं कि ‘शंखधर शाख्वाः’ले केही राष्ट्रिय गौरव तथा स्वाभिमानको काम गरेकै हुनुपर्छ । कुनै ठूलो कृतिको काम नगरेको भए सामन्ती युगका राजा राघवदेवले आफ्नै पुर्खाको नाममा स्थापित ‘मानदेव संवत्’लाई खुसुक्क प्रतिहरण गरी लुसुक्क ‘नेपाल संवत्’ प्रचलनमा ल्याउने थिएनन् नै ।

राजनीतिक दृष्टिकोणले हेर्दा शंखधर साख्वाले प्रजाहरुको ऋण तिरिदिएको घटनाले त्यति महत्व राख्दैन, जति त्यसमा अन्तरनिहित देशप्रेम, राष्ट्रियताको भावना र जनताको संगठन बलले सामन्ती राज्यसत्तालाई मनाउन फुल्याउन सफल भएको कुराले महत्व राख्दछ । यस अर्थमा शंखधर साख्वालाई नेपाल संवत्का प्रवर्तक मात्र होइन, नेपालका सुरुवाती देशभक्त एवं राष्ट्रवादी जननेता मान्नुपर्छ ।

यसैलाई मनन गरी नेपाल सरकारले नेपाल संवत्‌का प्रवर्तक शंकधर शाख्वालाई ‘राष्ट्रिय विभूति’ र नेपाल संवत्‌लाई ‘राष्ट्रिय संवत्’ घोषणा गरेको छ । नेपाल संवत् नयाँ वर्ष सुरु हुने कार्तिक शुक्ल प्रतिपदाको दिन सरकारले ‘सार्वजनिक विदा’समेत घोषणा गरिसकेको छ ।

नेपाल संवत्‌को जन–उपयोग

नेपालका केही अल्पसंख्यक धार्मिक वा जातीय समुहहरुबाहेक बहुसंख्यक जनताको धार्मिक, साँस्कृतिक, सामाजिक तथा जन्मदेखि मृत्युपर्यन् समेतको कार्यमा नेपाल संवत् अक्षुण्ण र अभिन्न रुपले गाँसिएको छ । नेपालीको जीवनमा जन्मपछिको पहिलो कर्मकाण्डी उत्सव ‘पास्नी’को साइत जुराउनेदेखि नै नेपाल सम्वत्‌को प्रयोग सुरु हुन्छ ।

हामीले मनाउने चाडबाड, विवाह–ब्रतबन्धको साईत, जन्मोत्सवहरु, जीवित पूर्खाहरुको जङक्व, मृत पूर्खाको नाममा गरिने श्राद्ध (तिथी), तर्पण, पिण्डपानी अर्पण आदि सबै नेपाल सम्वत्‌कै तिथि अनुसारका साइतमा गरिन्छन् । अर्थात्, नेपाली जीवनमा नेपाल संवत् जीवन परन्त पनि प्रयोगमा रहन्छ ।

साउने संक्रान्ति, माघे संक्रान्ति, असार १५ जस्ता केहि अपवाद छोडेर संस्कृतिका धनी हामी नेपालीका असंख्य चार्डपर्वहरु दशैं, तिहार, वर्षैभरीका सम्पूर्ण पूर्णिमा, औंशी इत्यादि सबै नेपाल सम्वत्कै तिथि अनुसार मनाउँछौं । नेपालका तानाशाही शासकहरुले नेपाल संवत्‌लाई राजकीय मान्यताबाट गलहत्याए पनि यो संवत् नेपाली जनजीवनमा मात्रै अत्यन्त गहिरो गरी भिजेर बसेन, ती शासकले समेत आफ्ना पूर्खाका श्राद्ध, तर्पण, पिण्डपानी अर्पण, सार्वजनिक विदा, चाडपर्व यही नेपाल संवत्‌मा आधारित तिथिअनुसार गर्नुको विकल्प निकाल्न सकेन ।

कुनै आततायी शासकले प्रतिबन्ध लगाउँदैमा नेपाल संवत्‌को अस्तित्व र प्रयोग नेपाली समाजबाट समाप्त भएन, हुनेवाला पनि छैन । हाम्रो धर्म, धार्मिक विश्वास, सँस्कृति, परम्परा र रितिरिवाज जीवित रहेसम्म नेपाल संवत्‌को अस्तित्व पनि स्वतः जीवित रहने छ ।

नेवार समुदायमा नेपाल संवत्

नेपाल संवत्‌को सुरुवाती दिन (नयाँ वर्ष) नेवारहरुले ‘ईश्वरको वास मानव शरिरमा हुने भएकाले वास्तविक मन्दिर मानव शरिर’ हुने विश्वासका साथ मानव शरिरलाई पूजा गर्दै मनाउने एक महान पर्व ‘म्हःपुजा’को दिन पर्दछ, नेवार समुदायमा यसलाई पुरानो जात्रा (नखः)का रुपमा समेत लिइन्छ । ‘न्हुदँ’ (नयाँ वर्ष) शब्द ‘च्वसा पासा’ (नेपाल भाषा साहित्यिक संस्था) का प्रेमबहादुर सिंहले २००८ सालमा पहिलो पटक प्रयोगमा ल्याएको मानिन्छ ।

राणा निरंकुशताविरुद्धको नेपालको प्रजातान्त्रिक आन्दोलन सफल भएपछि नेपाली नेताहरु हिन्दुस्तानबाट नेपाल फर्कने क्रममा उनी पनि नेपाल फर्के र लगत्तै उनले २००८ सालको नेपाल सम्वत् नयाँ वर्षको दिन पाटनको न्ह्यँखामा इतिहासमा पहिलोपटक ‘न्हुदँ’ कार्यक्रम आयोजना गरे ।

हुर्कंदो प्रजातन्त्रलाई निमुठ्याएर राजा महेन्द्र शाहले पञ्चायती निरंकुश शासन लागु गरेपछि देशमा खस भाषा (नेपाली भाषा) मात्र प्रयोग गर्न पाउने गरी ‘एक भाषा नीति’ लागु गरे । त्यसपछि देशका अन्य भाषाहरु राजकीय प्रयोग मात्र हैन, सामाजिक प्रयोगबाटै कमजोर हुन थाले, कतिपय अवस्थामा बहिस्कृत र दण्डनीय पनि बनाइए ।

यस्तो अवस्थामा नेपाल भाषा प्रेमी/प्रयोगकर्ता तथा तत्कालिन निरंकुश शासकविरुद्ध आन्दोलित नेवार समुदाय ‘नेपाल भाषा मंका खलः’को नेतृत्वमा नेपाल भाषा प्रबर्धनको आन्दोलनमा होमिए । ‘एक भाषा नीति’लाई प्रबर्धन गरिरहेको राज्य यो भाषा आन्दोलनको विरुद्धमा निरंकुश शैलीमा खनिएपछि आफ्नो आन्दोलनलाई सामाजिक जलप लगाउन यो संस्थाले नेपाल सम्वत् नयाँ वर्षको दिनमा ‘न्हुदँ’ कार्यक्रम भव्यरुपमा मनाउन थाल्यो, जुन प्रजातान्त्रिक आन्दोलनको पूर्ण सफलतापछि आज पनि निरन्तर रुपमा अगाडि बढिरहेको छ ।

आज देशको राजधानी मात्र नभई सहर बजारदेखि गाउँगाउँ सम्म र नेपाली निर्वासित संसारका जुनै देशमा ‘न्हुदँ’ कार्यक्रम विशेष उल्लासका साथ मनाइँदैछ ।

यसरी नेवारहरुको महान पर्व ‘म्हः पूजा’को दिनमा नेपाल सम्वत् नयाँ वर्ष सुरु हुने, राज्यले तिरस्कार गरेर मृत अवस्थामा फ्याकेको नेपाल संवत्‌लाई नेवार समुदायले संवर्धन र प्रबर्धन गर्दै नयाँ वर्ष ‘न्हुदँ’ मनाउने परम्परा सुरु गरेको र नयाँ वर्ष कार्यक्रमको नाम पनि नेपाल भाषाकै शब्द ‘न्हुदँ’ कार्यक्रमले ख्याति पाएपछि ‘यो नेवारहरुको मात्र सम्वत् हो कि !’ भन्ने भान अरु समुदायमा पर्न गएको देखिन्छ ।वास्वतमा यो नेवारहरुको मात्र सम्वत् भन्न मिल्ने कुनै आधार छैन ।

यसको स्थापना र प्रचलन नै ठकुरी राजा राघदेवको पालामा भएको हो, नेवार समुदायले यसको वकालत गरेको त पछिल्लो शताब्दीदेखि नै हो ।

देशको नाममा प्रचलित यो संवत्‌लाई नेवारहरुले केही दशकदेखि बढी उत्साहजनक रुपमा मनाउन थालेको मात्रै हो, वास्तवमा यसलाई सदियौंदेखि जोगाउने काम निश्चयरुपमै ब्राह्मण समुदायले गरेका हुन् । भित्ते क्यालेण्डर सुरु हुनुपूर्व नेपाल सरकार अन्तर्गतको ब्राह्मणहरुको समिति – ‘पञ्चाङ्गण समिति’ले तिथि, मिति, चाड, पर्व तोक्थ्यो, यी सबै नेपाल संवत्मा आधारित हुन्थ्यो । सयौं वर्षसम्म यही समितिले यो संवत्‌लाई जीवन्त बनाए ।

राणाकालमा जब नेपाल संवत्‌लाई पुरै बन्देज गरियो, यही पञ्चाङ्गण समितिले नै नेपाल संवत्‌को प्राण थामेको हो, निरन्तरता दिएको हो । यसलाई लिखित रुपमा विकास र प्रयोग गरेको पनि त्यही ब्राह्मणहरुले नै हो । तसर्थ नेपाल संवत् अनेक अप्ठ्यारा मोडबाट गुज्रिँदासमेत आजसम्म जीवित हुुनुमा ब्राह्मणहरुको ठूलो भूमिका छ ।

र, नेपालमा नेपाल संवत् मात्रै त्यस्तो संवत्‌ हुन पुगेको जुन राज्यले मान्यता दिएपनि नदिएपनि सुरुवातदेखि अविछिन्न रुपमा जनताले निरन्तर प्रयोग गर्दै आइरहेको एकमात्र संवत् हुन पुगेको छ । आज पनि उही ब्राह्मण समुदायका विज्ञहरु सम्मिलित ‘पञ्चाङ्गण समिति’ले नेपाल संवत्‌कै आधारमा वर्ष भरिको चाड, पर्व, उत्सव आदि निर्धारण गर्ने काम गर्दछ ।

सामूहिक र सामाजिक भावनामा अग्रपंक्तिमा उभिने व्यवहारगत (संभवतः वंशाणुगत) चरित्रले गर्दा हुनुपर्छ, देशको नाममा स्थापित यो नेपाल सम्वत्मा नेवार समुदायले अधिकतम आस्था प्रदर्शन गरे, यसलाई जीवित राखे र केही दशक अघिदेखि यसको संरक्षण, सम्बर्धन र व्यावहारिक प्रयोगको माग गर्दै आन्दोलनमा समेत छन् ।

नेपाल संवत्‌को प्रवर्तक मानिने राष्ट्रिय विभूति शंखधर शाख्वा नेवार समुदायको हो भन्ने कुनै प्रमाण छैन । नेवारहरुको शख्वाल, शाखल, ध्वँख्वाल जस्ता जातिहरु छन् तर शाख्वा छैन । उनी इज्जतवाला (साखवाला) भएकाले उनलाई शाख्वा भनेको हुनसक्छ, पैसा भएकालाई पैसावाला भनेजस्तै । यसरी यो शाख्वा थर नै हैन भन्ने इतिहासविद् धेरै छन् ।

यत्ति हो कि हालका दिनमा नेपाल संवत्‌लाई माया गर्ने, आफ्नो ठान्नेमा नेवार समुदाय अगाडि आए, उनीहरु नेपाल सम्वत्का सुरुवाती कथामा जोडिएका ‘देशभक्ति र स्वाभिमानका कथा’ले बढी उत्तेजित भए, नत्र यसलाई हालसम्म जीवित राख्नमा नेवारको भन्दा ब्राह्मणको भूमिका अतुलनीय रुपमा अधिक छ ।

संवत् नीति आवश्यक

नेपाल संवत् ज्योतिष शास्त्रको वैज्ञानिक धरातमा उभिएर चन्द्रमाको गति र अवस्थामा आधारित भएर बनाईएको अत्यन्तै वैज्ञानिक संवत् भएपनि व्यवहारगत प्रयोगका हिसाबले यो सम्वत्को प्रयोगमा कठिनाई अवश्य छ । सम्वत्को प्रयोग दैनिक जीवनसँग अन्योन्यास्रित रुपमा गाँसिएको हुन्छ, तसर्थ क्षणिक सद्भाव र समर्पणको भावनामा आएर कुन संवत् प्रयोग गर्ने भन्ने निर्णय लिन सकिन्न ।

हाम्रो जस्तो बहुसम्वत्युक्त समाजमा सम्वत्को प्रयोगका सन्दर्भमा राष्ट्रिय सहमति गरी हाम्रो सीमानाभित्र स्थापना भएका सबै संवत् राष्ट्रिय संवत्‌को मान्यता दिएर ‘संवत् नीति’ बनाउन आवश्यक छ, संवत्‌लाई सांस्कृतिक, सामाजिक, केही हदसम्म व्यवहारिक रुपमा कसरी सम्मानजनक प्रयोग गर्ने, संरक्षण र सम्बर्धन गर्ने भनि नीति बनाउनुपर्छ ।

विदेशी विक्रम संवत् व्यवहारिक प्रयोग गर्नुभन्दा विदेशी ईस्वी संवत् सरल र धेरै फाइदाजनक हुन्छ । ईस्वी संवत् प्रयोगका हिसाबले पनि सजिलो, कुन महिनामा कति दिन हुन्छ भन्ने कुरा पहिल्यै थाहा हुने, विश्वभरी एकरुपता समेत हुने आदि यसका बलियो पक्ष हुन् । त्यसो त विस्तारै विश्व भूमण्डलीकरणमा प्रवेश गर्दा भोलि हामीले यो संवत्‌लाई व्यवहारिक प्रयोग नगरी सुखै छैन ।

दिपेन्द्र श्रेष्ठ

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung