बागलुङ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–७ मल्ममा शनिबार विभिन्न सरकारी निकायले प्रदान गर्ने सार्वजनिक सेवाका विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
वडा कार्यालयको आयोजना र जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय, धवलागिरि प्रादेशिक अस्पताल र बागलुङ नगरपालिकाको अल्पकालीन महिला सेवा केन्द्रको समन्वयमा सचेतना कार्यक्रम गरिएको हो ।
कार्यक्रममा अल्पकालीन महिला सेवा केन्द्र बागलुङकी रचना शर्माले महिला हिंसाका विषयमा सहजीकरण गर्नुभएको थियो भने एकद्वारा संकट व्यवस्थापन केन्द्र सम्बन्धी जानकारी धौलागिरी प्रादेशिक अस्पताल बाग्लुङका डा. सुदीप केसीले दिनुभएको थियो।
त्यसैगरी कानुनी उपचार तथा प्रक्रियाका विषयमा जिल्ला प्रहरी कार्यालय बाग्लुङका सुदीप भट्टराईले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमको उद्देश्य र महत्वबारे जिल्ला समन्वय समिति बागलुङका जिल्ला समन्वय अधिकारी कृष्णराज गौतमले प्रष्ट पार्नुभएको थियो ।
कार्यक्रममा बोल्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले कार्यक्रमले सदरमुकामस्थित सरकारी कार्यालय तथा निकायले प्रदान गर्ने सेवाका बारेमा गलकोटका नागरिकलाई सुसूचित गरेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, महिला जागरण केन्द्र, मल्मका अध्यक्ष ललिता थापालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वडा नम्बर ७ मल्मका वडा अध्यक्ष राज थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सुशीला घर्ती मगरले गर्नुभएको थियो।













































































































































































































