बागलुङ । धौलागिरी प्रादेशिक अस्पतालले आफ्नो विशेष नवजात हेरचाह एकाइ एसएनसियुलाई नियोनाटल इन्टेन्सिभ केयर एकाइ एनआइसियुमा सफलतापूर्वक स्तरोन्नत गरेपछि ऐतिहासिक उपलब्धि हासिल गरेको छ।
यसरी स्तरोन्नत भएको एनआइसियु मा गम्भीर अवस्थामा जन्मिएको नवजात शिशुको सफल उपचार गरी जीवन रक्षा गरिएको छ।
यो सफल उपचार अस्पतालका प्रसूति तथा स्त्रीरोग विभागको एक जटिल प्रसव केसको नतिजा हो। विभागमा डा. विजय, डा. विमल र डा. अंजुको टोलीले गम्भीर प्रसव र जटिल स्त्रीरोग सम्बन्धी ओपरेसनहरू सफलतापूर्वक गर्दै आएका छन्।
यसै म्याग्दी जिल्लाको दुर्गम ग्रामीण क्षेत्रबाट आएकी एक गर्भवती महिलाको पौष ४ गते कर्ड प्रोल्याप्स र प्लेसेन्टा प्रिभिया जस्ता अत्यन्तै जोखिमपूर्ण अवस्था देखिएको थियो। महिलाको जीवन बचाउन आपतकालीन लोअर सेग्मेन्ट सिजेरियन सेक्सन एलएससियास गर्ने निर्णय स्त्रीरोग विशेषज्ञ डा। विजयको नेतृत्वमा भयो।
डा. विजय, डा. अमित डा. सन्दीप, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट तथा बालरोग विशेषज्ञ डा किरण तिवारी, मेडिकल अफिसर डा सन्दिप केसी र अन्य स्वास्थ्यकर्मीको संयुक्त टोलीले सफल शल्यक्रिया गर्यो।
दिउँसो जन्मिएको शिशु प्रारम्भमा कुनै पनि जीवनचिन्ह नदेखिएको (फ्लेट बेबी) अवस्थामा थियो। टोलीले निरन्तर र प्रभावकारी पुनर्जीवन (रिससिटेसन) , सिपिआर दिएपछि मात्र ७ मिनेटपछि मात्र शिशुको हृदयको धड्कन फर्क्यो। तत्कालै इन्टुबेसन गरी डा. किरण तिवारी र डा. यशोदाद्वारा शिशुलाई स्तरोन्नत एनआइसियुमा सारियो।
शिशुलाई भेन्टिलेटरमा राखेर एन्टिबायोटिक, आयोनोट्रोप्स लगायतका जीवन रक्षक औषधिहरू निःशुल्क उपलब्ध गराइयो।
डा. किरण, डा. यशोदा, डा. कमल, डा. सन्दिप र साथै नर्सिङ टोली मिलनबरुवालको नेतृत्वको कृतिका, रश्मी, पूजा, मोनिका, दीपा, रक्षा, आस्मा लगायतको समन्वयात्मक प्रयासले उपचारलाई अझ प्रभावकारी बनाएको थियो। त्यसैगरी, नर्सिङ अफिसर निमा हिताङ नेतृत्वको नर्सिङ टोलीले नवजात शिशुको सघन हेरचाह, भेन्टिलेटर व्यवस्थापन तथा निरन्तर निगरानीमा उल्लेखनीय योगदान पुर्याएको थियो।
अनुभवी नर्सिङ्ग तथा आइसियु टोलीले करिब १० दिनसम्म अथक सेवा र निगरानी गरी शिशुलाई भेन्टिलेटरबाट हटाउन सफल भए। हाल शिशु मेकानिकल सिपिएपिबाट अक्सिजन सपोर्टमा सारिएको छ र उसको हालको अवस्था सन्तोषजनक रहेको छ।
यसको जानकारी दिदै मेडिकल अफिसर डा। सन्दिप केसीले भने यो केवल एउटा सफल उपचार मात्र होइन, हाम्रो दूरगामी लक्ष्यको सुरुवात हो।
हाम्रो लक्ष्य यहाँ पूर्णरूपमा सुसज्जित एनआइसियु सञ्चालन गरी जटिल प्रसव पछिका गम्भीर नवजात शिशुहरूको सम्पूर्ण उपचार गर्नु हो। यसबाट भविष्यमा जटिल नवजात शिशुहरूलाई बाहिरी अस्पतालमा पठाउनु रोक्न सकिनेछ र दुर्गम क्षेत्रका सबै आमाबाबुले यही उच्चस्तरीय सेवा पाउनेछन्।
यस सफलताले दुर्गम क्षेत्रमा पनि उच्चस्तरीय नवजात सेवा सम्भव छ भन्ने प्रमाणित गरेको छ। अस्पतालका स्त्रीरोग तथा नवजात विभागको सहकार्य र बहु-विषयक टोलीको सामूहिक प्रयासले नै यो जीवनरक्षा सम्भव भएको प्रमुख डा.किरण तिवारीले बताउनुभयो।
स्त्रीरोग विभागले डा.विजय, डा.बिमल र डा. अंजुको टोली अगाडि बढी गम्भीर प्रसव र स्त्रीरोगीका केसहरू सफलतापूर्वक उपचार गर्दै आएको छ जसले सम्पूर्ण क्षेत्रका महिलाहरूमा विश्वास जगाएको छ।
यसबिच अस्पताल प्रशासन प्रमुख विपिन पुनले जटिल प्रसवलाई नै स्थानीयस्तरमै उपचार गरेर मातृ स्वास्थ्य रेफरल रोक्ने र स्तरोन्नत एनआइसियुको माध्यमबाट जटिल नवजात शिशुहरूको बाहिरी रेफरल पनि सम्पूर्ण रूपमा रोक्न मद्धत गर्ने बताउनुभयो ।














































































































































































































