बागलुङ । जनवादी गायक जिवन शर्मालाई २५ हजार रूपैयाँ राशिको प्रादेशिक रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार प्रदान गरिएको छ।
रत्न–श्रेष्ठ पुरस्कार गुठी बागलुङद्वारा विहिबार आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले शर्मालाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरेका हुन्।
कार्यक्रममा सम्मानित व्यक्तित्व शर्मा, विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्मा, वरिष्ठ अधिवक्ता काजि गाउँले श्रेष्ठ, साहित्यकार तारा प्रसाद शर्मा, कवियत्री चन्द्र कुमारी श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम रत्न–श्रेष्ठ पुरस्कार गुठीका संरक्षक प्रेम छोटाको अध्यक्षता, सदस्य आनन्द राज सिलवालको स्वागत र सचिव हरि प्रसाद पाण्डेको संचालनमा सम्पन्न भएको थियो ।
साहित्यकार एवं संस्कृतिकर्मी प्रेम छोटाले आफ्नी आमा रत्नकुमारी श्रेष्ठको स्मृतिमा २०३४ सालमा पुरस्कार कोष स्थापना गरेका थिए। ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’लाई देशकै जेठोमध्येको एक पुरस्कार संस्था मानिन्छ।














































































































































































































