बागलुङ । बागलुङमा इजाजत प्राप्त ५९ थान हात हतियार बुझाइएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङले फागुन २१ मा हुने निर्वाचनलाई लक्षित गर्दै निजी हात हतियार बुझाउन आग्रह गरे अनुसार अहिले सम्म ५९ थान विभिन्न हात हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाईएको छ ।
बागलुङमा दर्तावाला मात्रै एक सय ४२ वटा हतियार रहेकोमा अझै ८३ था हतियार बुझाउन बाँकी रहेको छ । शान्ति सुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएकोमा अहिले सम्म ५९ थान लाईसेन्स प्राप्त भरुवा, सट गन लगायतका हात हतियार प्राप्त भएको बागलुङका प्रमुख जिल्ला कृष्ण प्रसाद आचार्यले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समिति बागलुङले निर्वाचनलाई मध्यनजर गर्दै माघ ८ गतेको निर्णयअनुसार जिल्लाभित्र विभिन्न व्यक्ति तथा समूहको नाममा रहेका सबै प्रकारका इजाजत प्राप्त हातहतियार र सोको खरखजाना बुझाउन सूचना जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय बागलुङले फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न जिल्लाका विभिन्न व्यक्तिका नाममा इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरिएको थियो ।
प्रजिअ आचार्यका अनुसार निर्वाचन अघि सम्म हतियार बुझाउन पाइने बताउनुभयो । उहाँले समयमै नबुझाएका हतियार निर्वाचनमा फेला परेमा लाइसेन्स रद्द गरिने जानकारी दिनुभयो । जिल्ला प्रशासनले इजाजत प्राप्त हातहतियार र विभिन्न काममा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय बागलुङ वा नजिकको प्रहरी चौकीमा बुझाउन सुचना जारी गरेको थियो ।
प्रहरीले निर्वाचन लक्षित गरी चलाईएको सर्च अप्रेशनमा ११५ थान अवैद्य हात हतियार बरामद गरिएको थियो । ११५ थान हतियार अवैधरूपमा लुकाईछिपाई गरी राखिएको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।













































































































































































































