बागलुङ । बागलुङको ऐतिहासिक चैते दशैं मेला मंगलबारदेखि शुरु भएको छ । मेलाको उद्घाटन गुठी संस्थानका अध्यक्ष रमेश पोखरेलले गर्नुभएको थियो ।
जोडी परेवा उडाएर मेलाको शुभारम्भ गर्दै पोखरेलले धार्मिक क्षेत्रमार्फत पर्यटनको विकास गर्न सकिने बताउनुभयो । कालिका मन्दिर लामो इतिहास बोकेको शक्तिपीठ भएको बताउदै पोखरेलले धार्मिक पर्यटक भित्राउन मन्दिरले सघाएको बताउनुभयो ।
पाल्पाबाट मन्दिर ल्याएको इतिहास सम्झदै पोखरेलले नागरिकको आस्था र विस्वासप्रति कालिका मन्दिरले पुरा गरेको बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य, गुठीका सल्लाहकार मन कुमारी केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम गुठी व्यवस्थापन समितिका अध्यक्ष भुपेन्द्र खड्काको अध्यक्षता तथा पत्रकार सृजना पन्त र तारानाथ आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
मन्दिरको किम्वदन्तीसंग जोडिएको मेला वार्षिक रुपमा लगाइने गरिएको छ । मेला उद्घाटन समारोहमा झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिएको थियो ।
मन्दिर परिसरमा स्थानीय तथा आयातित वस्तुको खरिद विक्रीका लागि स्टलहरु राखिएको छ भने लोक दोहोरी गीत, भलिबल लगायत विभिन्न सास्कृतिक आयोजना गरिएको छ ।














































































































































































































