३ श्रावण २०८३, आईतवार

 

उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत

बागलुङ । नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको अध्यक्षमा नरेश कँडेल सर्वसम्मत चयन हुनु भएको छ ।

महासङ्घको यही चैत्र २० गते हुन लागेको चौथो महाधिवेशनबाट नेतृत्वका लागि कँडेलसंँगै अध्यक्षमा उम्मेदवारी दिएका हालका कोषाध्यक्ष तथा स्याङ्जा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नवराज सुवेदीले उम्मेदवारी फिर्ता लिएसँगै कँडेल सर्वसम्म हुनुभएको हो ।

कार्यसमितिले २० गते नवौँ गण्डकी प्रदेशस्तरीय सभा तथा तेस्रो अधिवेशनमा निर्वाचित भएको प्रमाणपत्र प्राप्त गर्नेछन् । अधिवेशनमा नगर उद्योग वाणिज्य संघ २५, एसोसियट सदस्य १०२, वस्तुगत संघ सदस्य १७ गरी जम्मा १४४ प्रतिनिधि छन् ।

जिल्ला नगर उपाध्यक्षमा मृगेन्द्र घिमिरे, एसोसियट उपाध्यक्षमा सूर्यबहादुर भुजेल, वस्तुगत उपाध्यक्षमा हरि कुमार श्रेष्ठ र कोषाध्यक्ष राजेन्द्र ओझा सर्वसम्मत हुनुभएको छ ।

उद्योग वाणिज्य संघ बागलुङले निर्वमान अध्यक्ष कँडेललाई नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्षको उम्मेदवार बनाउने सस्थागत निर्णय गरेसँगै कँडेलले तयारी थाल्नु भएको थियो।

लामो समयदेखि उद्योग वाणिज्य संघमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कँडेलले बागलुङ उद्योग वाणिज्य संघमा तीन वर्ष अध्यक्षको जिम्मेवारी कुशल पूर्वक पुरा गर्नु भएको थियो ।

२०६५ सालमा उद्योग वाणिज्य संघ बागलुङको साधारण सदस्य बन्नु भएका कँडेल २०६६ देखि ०६९ सम्म पहिलो र २०६९ देखि २०७२ सम्म दोश्रो पटक कार्य समिति सदस्य, २०७२ देखि २०७५ सम्म द्धितीय उपाध्यक्ष, २०७५ देखि २०७८ सम्म महासचिव र २०७८ देखि २०८१ सम्म अध्यक्ष बागलुङ उद्योग वाणिज्य संघको अध्यक्ष हुनु भएको थियो भने २०८१ देखि हाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशको सदस्य रहनु भएको छ ।

नेपाल पत्रकार महासंघ बागलुङ लगायतका विभिन्न संघ संस्थाको नेतृत्व गरि सकेका कँडेलले अस्थिर राजनीतिक अवस्थामा पनि निजी क्षेत्रलाइ क्रियाशिल र गतिशिल बनाउँदै सरकारी निकायसँग सहकार्य गरेर अगाडि जाने बताउनु भएको छ ।

युवाको नेतृत्व आजको आवश्यकता रहेको र समृद्ध गण्डकी प्रदेश निमार्ण गर्नका लागि लगानी मैत्री वातावरण सिर्जना गराउन र जिल्ला र नगर उधोग वाणिज्य संघ, वस्तुगत संघ र एशोसिएट सदस्यको व्यक्तिगत तथा संस्थागत क्षमता अभिबृद्धी गराउने गरि कार्यक्रम ल्याउने बताउनुभयो ।

साथै प्रदेशको आर्थिक र सामाजिक विकासका लागि नीजि क्षेत्रको भूमिका प्रभावकारी बनाउने र व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने आफ्नो एजेण्डा रहेको कँडेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung