३ श्रावण २०८३, आईतवार

 

मिडिया मेलामा हस्तलिखित पत्रिका र २०१६ सालको भिडिटर बुक मुख्य आकर्षण, पुस्तकप्रेमीको घुइँचो

बागलुङ । नेपाल पत्रकार महासघं बागलुङ शाखाले शुक्रबारदेखि आयोजना गरेको मिडिया मेलामा विद्यामन्दिर पुस्तकालयको स्टल दर्शकहरुको मुख्य आर्कषण बनेको छ ।

मेलामा पुस्तकालयका संस्थापक ओमप्रसाद गौचन र मेघ कुमार वैघले विसं २००७ सालमा भारतको गोरखपुरबाट ल्याउनु भएको पुस्तकहरु, गण्डकी प्रदेशमै अफसेट प्रेस नहुँदा तत्कालिन जागरुक युवाहरुले प्रकाशित गरेका हस्तलिखित पत्रपत्रिकाहरु मुना, सरोज, ज्योतिमा दर्शक आकर्षित भएका छन् ।

साथै राजा महेन्द्र, योगन्द्र मान शेरचन, कृष्ण प्रसाद पराजुली, विकास गौचन, नरसिंहभक्त तुलाचन, एच डेविस कारलोसलगाएत व्यक्तित्वहरुले २०१६ सालदेखि हस्ताक्षर गर्नु भएको भिडिटर बुक पनि थप आकर्षणको केन्द्र थियो ।

पुस्तकालका युवाहरुले २०३१ साल र २०३६ सालमा प्रकाशित गरेका झिल्को, कालीको छाल पत्रिकाहरु र २००८ सालमा ओमकार गौचन र गोविन्द लाल श्रेष्ठले प्रकाशित गर्नु भएको सहि बाटो पत्रिकामा  बौद्धिक दर्शक, पुस्तकप्रमी र विद्यार्थी बढी लोभिएको विद्यामन्दिर पुस्तकालयका पुस्तकाध्यक्ष गणेश सापकोटाले नयाँ विश्वलाई बताउनुभयो ।

मिडिमा मेलामा वर्तमान पुस्ताले भोगेका सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक समस्या र समाधानका विषयमा विमर्श र गहन छलफल हुने भएकाले पुस्तक तथा पत्रिकाका पारखीहरुलाई केन्द्रीत गरी स्टल राखिएको विद्यामन्दिर पुस्तकालयका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।

मेलामा फोटो तथा पुराना सञ्चार सामग्री प्रर्दशनीमा पनि राखिएको छ ।

मेलामा तय गरिएको नारा अनुसार नै आयोजकले पुस्तक, पत्रिका, पुराना सञ्चार सामग्री र फोटो प्रर्दशनी, लाइभ पेन्टिङको व्यवस्थापन मिलाउन सफल भएकाले पनि दर्शकहरुको आर्कषण बढेको हो ।यो मेलाले बागलुङको सामर्थ्र्य, संभावना उजागर गर्न सफल हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung