२७ जेष्ठ २०८३, बुधबार

 

श्रीकृष्ण बम मल्ल बाबुराम–सरस्वती बज्राचार्य स्मृति सम्मानबाट सम्मानित

बागलुङ । कलाकार बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोष, बागलुङले यस वर्षको स्मृति सम्मानबाट गायक तथा सङ्गीतकार श्रीकृष्ण बम मल्ललाई सम्मानित गरेको छ।

नेपाली गीत–सङ्गीतको क्षेत्रमा उहाँले पुर्‍याउनुभएको उल्लेखनीय योगदानको कदर गर्दै नगद ४० हजार रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान प्रदान गरिएको हो।

बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, कोषका संस्थापक सदस्य राजनकुमार शाक्य तथा अध्यक्ष काजी रोशनले संयुक्त रूपमा सम्मानित व्यक्तित्व मल्ललाई सम्मान हस्तान्तरण गरेका थिए।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपमेयर राजु खड्का, सम्मानित व्यक्तित्व गायक मल्ल, समाजसेवी डा. कृष्णबहादुर श्रेष्ठ तथा साहित्यकार प्रेम छोटाले मन्तव्य व्यक्त गरेका थिए।

सम्मानित व्यक्तित्व श्रीकृष्ण बम मल्लको परिचय वरिष्ठ अधिवक्ता काजी गाउँले श्रेष्ठले गराउनुभएको थियो।

कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ईश्वर बज्राचार्यले गर्नुभएको थियो। कार्यक्रममा कोषका संस्थापक सदस्य राजनकुमार शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने संस्थापक सदस्य विकास शाक्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो।

बाबुराम–सरस्वती बज्राचार्य स्मृति कोषले कला, साहित्य र सङ्गीत क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै स्रष्टाको योगदानको उच्च मूल्याङ्कन गर्ने परम्परालाई निरन्तरता दिएको जनाएको छ।

तस्बिर: खोजीनितीबाट

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung