बागलुङ । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ग्लोबल आइएमई बैंक लिमिटेड, बागलुङ शाखाले बागलुङ नगरपालिका–९ स्थित तित्याङ माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको छ।
बैंकले विद्यालयका जेहेन्दार, विपन्न तथा अनुशासित ६० जना विद्यार्थीलाई झोला, विद्यालय पोशाक तथा स्टेशनरी सामग्री प्रदान गरेको हो। करिब ५० हजार रुपैयाँ बराबरको उक्त सहयोगले विद्यार्थीको अध्ययनमा थप उत्साह मिल्ने विश्वास गरिएको छ।
सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा ग्लोबल आइएमई बैंक गण्डकी प्रदेश प्रमुख सुसोभन देवकोटा र विद्यालयका प्रधानाध्यापक कुमारप्रसाद उपाध्यायले मन्तव्य व्यक्त गर्दै बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमले विद्यार्थीलाई सकारात्मक प्रेरणा मिल्ने बताए।
ग्लोबल आइएमई बैंक बागलुङ शाखाका प्रबन्धक सोकेन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक दिनेश अधिकारीले गर्नुभएको थियो।









































































































































































































