७ असार २०८३, आईतवार

 

सुरेन्द्र रेग्मीको ‘शून्यदेखि पूर्णतासम्म’ सार्वजनिक

बागलुङ । अमेरिकामा बसेर साहित्य सिर्जनामा सक्रिय लेखक सुरेन्द्र रेग्मीको पहिलो उपन्यास कृति ‘शून्यदेखि पूर्णतासम्म’ विमोचन गरिएको छ।

शनिबार धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा आयोजित एक समारोहका बीच क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा।डा। दिनबहादुर थापाले कृतिको विमोचन गर्नुभयो।

कार्यक्रममा कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै क्याम्पसको नेपाली विभागका प्रमुख डा। आनन्दराज सिलवालले उपन्यासले जीवनका विविध आयाम, संघर्ष र आत्मबोधको यात्रालाई कलात्मक ढंगले प्रस्तुत गरेको बताउनुभयो।

लेखक रेग्मीले कोभिड–१९ महामारीका बेला भएको बन्दाबन्दीको समयबाट उपन्यास लेखन सुरु गरेको र करिब पाँच वर्षको निरन्तर मेहनतपछि कृतिले पूर्णता पाएको जानकारी दिनुभयो।

बागलुङको गलकोटमा जन्मनुभएका रेग्मी हाल अमेरिकामा प्रविधि तथा व्यवस्थापन क्षेत्रमा कार्यरत हुनुहुन्छ। ‘शून्यदेखि पूर्णतासम्म’ उहाँको पहिलो साहित्यिक कृति हो।

उपन्यास रत्न–श्रेष्ठ पुरस्कार गुठी, बागलुङअन्तर्गत रहेको दीअ प्रकाशनबाट प्रकाशित भएको हो।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung